सिन्धुली। सिन्धुली जिल्ला स्थित सुनकोसी गाउँपालिकाले कोरोना सङ्क्रमितको उपचारमा खटिने सिआइसिटी टिमका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिमभत्ता दिने निर्णय गरेको छ। बिहीबार गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षतामा बसेको स्थानिय तह कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले त्यस्तो निर्णय गरेको हो।

गाउँपालिका क्षेत्रभित्र कोरोना सङ्क्रमित बढेपछि त्यसको नियन्त्रण र सङ्क्रमितको उपचारका लागि गाउँपालिकाले विभिन्न निर्णय गरेको छ। जसमा वडा स्तरीय कोभिड फोकल पर्सनलाई ३५ प्रतिशत, पालिका भित्रका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सफाईकर्मीहरुलाई २५ प्रतिशत, कोभिड सम्बन्धी गतिविधिमा प्रत्यक्ष रुपमा खटिने एम्बुलेन्स चालकलाई ५० प्रतिशत, कोभिड सम्बन्धी गतिविधिमा प्रत्यक्ष रुपमा खटिने प्रहरी कर्मचारीलाई २५ प्रतिशत, कोभिड सम्बन्धी गतिविधिमा प्रत्यक्ष रुपमा खटिने गा.पा.का चालकलाई २५ प्रतिशत, कोभिड सम्बन्धी गतिविधिमा प्रत्यक्ष रुपमा खटिने प्र.प्र.अ. र अन्य प्रशासनिक कर्मचारी ३० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको अध्यक्ष दाहालले जानकारी दिनु भयो। 

त्यस्तै, गाउँपालिकाले जेठ ९ गतेसम्मका लागि निषेधाज्ञा पनि थप गर्ने निर्णय भएको छ। यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि आज सकिँदै छ। निषेधाज्ञा अवधिमा अत्यावश्यक सार्वजनिक सेवा (स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी, आदि), बैंक तथा वित्तिय संस्था, नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालन गरी, सम्झौता भई संचालनमा रहेका विकास निर्माणका कार्यहरु स्वास्थ्य मापदण्ड पूरा गरी अन्यत्र बाहिरबाट कामदार नल्याई भई रहेका कामहरू सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाले निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेकका नियमित सेवाहरु, सामाजिक संघ–संस्थाका कार्य तथा सेवाहरु (स्वास्थ्य सेवा बाहेक) पूर्ण रुपमा बन्द हुने जनाएको छ। 

खाद्यान्न, फलफूल, तरकारी, दुधडेरी, ग्याँस पसलहरु (बिहान ६ः००–१०ः००) सम्म मात्र खुल्नेछन् भने  होटल तथा रेष्टुरेण्ट, ब्यूटीपार्लर, कपडा पसल, सैलुङ, टेलरिङ, शैक्षिक संस्था, पार्टी प्यालेस, स्टेशनरी लगायतका नियमित व्यवसायहरु, उद्योग, कलकारखानाहरु पूर्ण रुपमा बन्द हुनेछन् । 

अस्थायी कोभिड  अस्पताल व्यवस्थापनको लागिप्रदेश सरकारबाट ३ महिनाको लागि १ जना एमबिबिएस डाक्टर, स्टाफ नर्स–१ र कार्यालय सहयोगी–१ समेतको लागि रु. १० लाख कार्यक्रम प्राप्त भएकोले सोको पदपूर्ती गरी सुनकोशी गाउँपालिका वडा नं. ३ मा नव निर्मित सुनकोशी क्याम्पसमा अर्को व्यवस्थापन नभए सम्म १० बेडको अस्थायी कोभिड अस्पताल बनाउन गाउँ कार्यपालिकामा सिफारीस गर्ने निर्णय गाउँपालिकाले गरेको छ। 

गाउँपालिका क्षेत्रभर अक्सिजनको व्यवस्थापन सहज बनाउनको लागि गाउँपालिकाको प्रत्येक वडामा अक्सिजन सिलिण्डरको व्यवस्थापन गरेर सम्पर्क व्यक्ति तोकेको छ। वडा नं ३ मा रामचन्द्र आचार्य ४ सिलिण्डर, वडा नं ५ मा कृष्णराज दाहाल ३ सिलिण्डर, वडा नं ६ मा प्रकाश बराल ९ सिलिण्डर, वडा नं ६ मा टिका भण्डारी ९ सिलिण्डर, वडा नं ५ मा विनोद श्रेष्ठ  २ सिलिण्डर, वडा नं २ मा उपेन्द्र कोइराला  २ सिलिण्डर, वडा नं ५ मा  निरज श्रेष्ठ १ सलिण्डर र वडा नं ५ मै राजन भण्डारी  ३ सिलिण्डर गरी कूल ३३ सिलिण्डर अक्सिजन व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ।