भोटेकोशी बाढी पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रोयल एवान इन्भेस्टमेन्ट प्रालिले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा भदौ १० गते गएको भोटेकोसी बाढी पीडितका लागि सोमबार रोयल एवान इन्भेस्टमेन्ट प्रालिका अध्यक्ष हरि बहादुर श्रेष्ठ (नविन) सहितको टोली अर्थ मन्त्रालय, सिंहदरबार पुगि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेका छन । बाढीपहिरोबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा ऐक्यबद्धता जनाउँदै कम्पनीका सञ्चालक, सेयर सदस्य तथा कर्मचारीबाट संकलित रकम कोषमा जम्मा गरिएको हो ।
बाढीपहिरोका कारण प्रभावित भएका परिवारलाई तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरिएको प्रा.लिका सचिव राकेश श्रेष्ठले बताएका छन । कम्पनीले विपद्को समयमा प्रभावित नागरिकको पीडामा साथ दिनु सबैको साझा दायित्व भएको उल्लेख गर्दै आफ्नो तर्फबाट गरिएको सानो सहयोगले पीडित परिवारको राहत र पुनःस्थापनामा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा सर्वसाधारणले सहयोग गर्दै आएका छन ।

