काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको भिषण बाढीमा परी रसुवा, नुवाकोट र धादिङ जिल्लामा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सुनुवार राष्ट्रसेवक समाज, काठमाडौंले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ। समाजले बुधबार कोषमा ३८ हजार ४०० रुपैयाँ सहयोग गरेको हो ।
रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो मात्रामा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको हुँदा पीडित नागरिक नागरिकहरूलाई सहयोग पुर्याउन समाजले उक्त सहयोग गरेको हो।
प्राकृतिक विपद्को सङ्कटपूर्ण समयमा राज्यको उद्धार, राहत तथा पुनर्स्थापनाको अभियानलाई थप प्रभावकारी बनाउन सबै क्षेत्र र निकायको सहकार्य आवश्यक रहेको समाजले जनाएको छ।
विपदमा परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा सामाजिक दायित्व भएको बताउनु हुँदै सुनुवार राष्ट्रसेवक समाजका अध्यक्ष अमरदीप सुनुवारले भन्नुभयो, “विपद्को पीडामा रहेका नागरिकलाई राहत र सहयोग उपलब्ध गराउनु मानवीय कर्तव्य हो। सानो सहयोगले पनि विपद्मा परेका परिवारलाई पीडामा मलम लगाउन सक्छ। त्यसैले राज्यको उक्त अभियानमा सहयोग पुर्याउने उद्देश्यले समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समाजको तर्फबाट आर्थिक योगदान गरेको हो।”
अध्यक्ष सुनुवारले विपद्को समयमा सरकारी निकाय, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकबीचको सहकार्य अझ बलियो हुनुपर्नेमा जोड दिनुभयो। उहाँले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा समाजले आफ्नो भूमिका निरन्तर निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, प्रधानमन्त्री दैवी प्रकोपउद्धार कोषमा योगदान गर्नु हुने सम्पूर्ण सुनुवार राष्ट्रसेवकहरूप्रति धन्यवाद ज्ञापन गर्नु भयो ।
सुनुवार राष्ट्रसेवक समाजले सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा योगदान पुर्याउँदै आएको जनाएको छ। समाजले विपद् प्रभावित नागरिकको जीवनरक्षा, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि भइरहेका प्रयासमा सबै पक्षलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरेको छ।
सुनुवार राष्ट्रसेवक समाज, काठमाडौंले आगामी दिनमा पनि मानवीय सेवा, सामाजिक उत्तरदायित्व र विपद् व्यवस्थापनका क्षेत्रमा रचनात्मक योगदानलाई निरन्तरता दिनेसमेत जनाएको छ।

