रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा २०८३ भदौ १० गते आएको भोटेकोसी बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) ले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ ।
फास्ट फ्यानमा आबद्ध व्यवसायी सदस्यहरुबाट संकलित रकममा संस्थाको तर्फबाट थप गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । सोमबार दिउँसो फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) का अध्यक्ष होमराज श्रेष्ठसहितको टोली अर्थ मन्त्रालय, सिंहदरबार पुगि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।
बाढीपहिरोबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा ऐक्यबद्धता जनाउँदै मानवीय सहयोगस्वरूप रकम प्रदान गरिएको फास्ट फ्यानका अध्यक्ष होमराज श्रेष्ठले बताएका छन । पीडित परिवारको कठिन अवस्थामा संस्थाका सदस्य तथा शुभचिन्तकहरूको सानो सहयोगले भए पनि राहत र पुनःस्थापनाका कार्यमा योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाका महासचिव राकेश श्रेष्ठले बताउनुभयो ।
फास्ट फ्यानले प्राकृतिक विपत्तिका बेला प्रभावित समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

