सिन्धुली। जिल्ला स्थित दुधौली नगरपालिका वडा नं.  -१० बस्ने नारायण  कार्कीलाई छिमेकीलाई बोक्सीको आरोप लगाएपछि आईतबार पक्राउ परेका छन्। उनले गत जेठ १८ गते दुधौली नगरपालिका वडा नं. १० बस्ने आफ्नै छिमेकी लक्ष्मी कार्कीलाई बोक्सीको आरोप लगाउँदै झगडा गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। 

बोक्सी आरोप लागेकी पीडित लक्ष्मी कार्कीले जेठ ३० गते नै प्रहरी कार्यालयमा जाहेरी दिए पनि आरोपित कार्की फरार रहेका कारण प्रहरीले पक्राउ गर्न सकेको थिएन। खोजतलासको  क्रममा प्रहरीले आईतबार उनलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता मनोज कुमार लामाले जनाएका छन्। प्रहरीले निज नारायण कार्कीलाई पक्राउ गरी जिल्ला अदालत सिन्धुलीमा म्याद पथ गरी अनुसन्धान गरिरहेको छ।

बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ को दफा ३ को उपदफा (१) बमोजिम बोक्सीको आरोप सम्बन्धी कसूर गर्ने व्यक्तिलाई कम्तिमा छ महिना देखि दुई वर्षसम्म कैद र पाँच हजारदेखि  बीस हजार रुपैंयाँसम्म जरिवाना र अधिकतम पाँच वर्षदेखि आठ वर्षसम्म कैद र पचास  हजारदेखि एकलाख रुपैंयाँसम्म जरिवाना तथा कसूर गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम हुने सजायमा थप दश  प्रतिशत सजाय गर्ने व्यवस्था छ।