खाङसाङ। फिक्कल गाउँपालिकामा खोप अभियानको पहिलो दिन २ सय ३४ जनाले खोप लगाएका छन्। गाउँपालिकाको अनुसार साउन १ गतेदेखि ४ गतेसम्म चल्ने खोप अभियानको पहिलो दिन ५ वटा खोपकेन्द्रबाट खोप अभियान सञ्चालन गरिएको हो। 

शुक्रबार पहिलो दिन स्वास्थ्य चौकी सुम्नामपोखरीमा ९ महिला र ७ पुरुष गरी जम्मा १६ जनाले खोप लगाएका छन्। स्वास्थ्य चाैकी खाेलागाउँ खोप केन्द्रमा  ३५ महिला र ४६ पुरुष गरी जम्मा ८१ जनाले खोप लगाएका छन्।  वडा नं. ४ को  खाङ्गसाङ्ग स्वास्थ्य चौकी केन्द्रबाट २० महिला र २९ पुरुष गरी जम्मा ४९ जनाले, वडा नं. ५ साेल्पाठाना स्वास्थ्य चाैकी खोप केन्द्रबाट १९ महिला र २९ पुरुष गरी ४८ जनाले र वडा नं. ६ रत्नावती स्वास्थ्य चाैकी खोप केन्द्रबाट २० महिला र २० पुरुष गरी जम्मा ४० जनाले भेरोसिल खोपको पहिलो डोज लगाएको गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारले बताउनु भयो। उहाँका अनुसार पहिलो दिन गाउँपालिकाको सबै खोप केन्द्रबाट १ सय ३ जना महिला र १ सय ३१ पुरुष गरी जम्मा २ सय ३४ जनाले खोप लगाएका हुन्। 

गाउँपालिकाकाको वडा नं. १ महादेवडाँडा स्वास्थ्य चौकी खोप केन्द्रमा भने भोली साउन २ गतेदेखि खोप लगाउने उपाध्यक्ष सुनुवारले बताउनु भयो। उपाध्यक्ष सुनुवारले सूचनामा ताेकिएका समुहका महानुभावहरु आ-आफ्नाे खाेप केन्द्रमा सम्पर्क गर्नु हुन र जनप्रतिनिधि, समाजसेवी वुद्धिजीवीहरू, स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयम् सेविका सम्पूर्णलाई सहजिकरणका लागि अनुराेध गर्नु भएको छ।

गाउँपालिकाले यसअघि कुनै खोप नलगाएका ५५ वर्ष वा सोभन्दा सबै नागरिकहरू, सार्वजनिक यातायातमा कर्यरत चालक तथा सहचालकहरू, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू, अत्यावश्यक सेवा प्रवाहमा संलग्न व्यक्तिहरू र कोभिड -१९ को खोप लगाएको हुनुपर्ने अनिवार्य गरेको देशमा जाने नेपाली नागरिकहरूलाई प्राथमिकताका साथ खोप लगाउन सूचना जारी गरेको थियो।

गाउँपालिकाको खोप केन्द्रहरू वडा नं. १ को महादेवडाँडा स्वास्थ्य चौकीमा साउन २ गतेदेखि ४ गतेसम्म, वडा नं. २ को स्वास्थ्यचौकी सुमनाम पोखरीमा साउन १ गतेदेखि ३ गतेसम्म, वडा नं. ३ को स्वास्थ्य चौकी खोलागाउँमा साउन १ गतेदेखि ३ गतेसम्म, वडा नं. ४ को स्वास्थ्य चौकी खाङसाङमा साउन १ गतेदेखि ३ गतेसम्म, वडा नं. ५ को सोल्पाठाना खोप केन्द्र अन्तर्गत साउन १ गतेदेखि ३ गतेसम्म र वडा नं. ६ को स्वास्थ्य चौकी रत्नावती खोप केन्द्र अन्तर्गत साउन १ गतेदेखि ३ गतेसम्म खोप लगाउन सकिने छ।