१३ भदौ, काठमाडौ । सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हाल सम्म ५३ हजार ६९९ जना नेपालीलाई उद्वार गरेको छ ।

 

सिसिएमसिले जारी गरेको आजसम्मको तथ्याङकअनुसार ५८ देशमध्ये सबैभन्दा बढी १५ हजार २१० जना नेपाली युएइबाट फर्किएका छन् । दोस्रो फर्किने मुलुक मलेसियाबाट आठ हजार २७६ जना नेपाली स्वदेश फर्किएका छन् । तेस्रोमा साउदीबाट आठ हजार २२८, कुवेतबाट छहजार ३२० जना नेपाली स्वदेश आएका छन् ।

 

यस्तै, कतारबाट पाँच हजार ७३९ जना स्वदेश फर्किएका छन् । यो अवधिमा जापानबाट एकहजार २८२ जना नेपाली स्वदेश फर्किएका छन् भने अस्ट्रेलियाबाट एक हजार ८७ जना स्वदेश फर्किएको उल्लेख छ । दक्षिण कोरियाबाट ९६७ जना फर्किएकोमा छिमेकी देश बङ्गलादेशबाट ८६५ जना फर्किएको सिसिएमसिले बताएको छ ।

 

यसैगरी, माल्दिभ्सबाट ७०९ जना फर्किएकोमा ओमानबाट ६६७ जना नेपाली स्वदेश फर्किएका छन् । हाल सम्म संयुक्त राज्य अमेरिकाबाट ५९१ जना नेपाली स्वदेश फर्किएको बताइएको छ । यस्तै, पाँच सयभन्दा कम नेपाली स्वदेश आएकोमा थाइल्याण्ड ३२६, संयुक्त अधिराज्य (बेलायत)बाट २४४ जना स्वदेश फर्किए । कोरोना भाइरसबाट सबैभन्दा पहिला उद्धार गरिएको छिमेकी मुलुक चीनबाट अहिलेसम्म २०८ जनाको उद्वार गरिएको छ ।