न्यूयोर्क। अमेरिकाको न्यूयोर्कमा  पहिलो पटक आयोजना भएको 'नेपाल डे' भव्य रुफमा सम्पन्न भएको छ । न्यूयोर्क राज्य विधान सभाले गत साता मात्र नेपालको गणतन्त्र दिवसलाई 'नेपाली अमेरिकन हेरिटेज डे' अर्थात 'नेपाल डे' को रुपमा मनाउने घोषणा पारित गरेसँगै  यस पटकदेखि कार्यक्रम आयोजना गरी मनाउन थालिएको हो। 

न्यूयोर्क राज्यले प्रत्येक वर्षको मे २९ लाई नेपाल डे को रुपमा मनाउने भएको छ। संयोग वस यस  वर्ष गणतन्त्र दिवस पनि सोही दिन परेको  थियो।

पहिलो पटक सम्पन्न 'नेपाल डे' को आयोजक नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले गरेको थियो । फीप्नाद्वारा आयोजित कार्यक्रममा न्यूयोर्कस्थित क्रियाशिल सबैजसो संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। विभिन्न नेपाली जातजातिका पोशाक र बाजागाजासहित उपस्थित भएका नेपाली अमेरिकन सहभागिहरुले नगर परिक्रमा गरेका थिए । र्यालीपछि आयोजित विशेष कार्यक्रममा न्यूयोर्क राज्य विधानसभा सदस्य जेनिफर राजकुमार र नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कका कार्यवाहक महावाणिज्यदुत विष्णु प्रसाद गौतमको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा विधानसभा सदस्य जेनिफरले फिप्नाका अध्यक्ष लोक चेम्जोङ र महावाणिज्यदुत गौतमलाई न्यूयोर्क राज्यले पारित गरेको नेपाली अमेरिकन हेरिटेज डे को रिजोलुसन हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै जेनिफरले नेपाली अमेरिकन समुदायको सम्मान एवं पहिचानका लागि राज्य सरकारले ऐतिहासिक नेपाल डे घोषणा गरेको जानकारी दिनु भयो । उहाँले नेपाली अमेरिकनहरुका कला, संस्कृति एवं परम्परा रक्षाका लागि राज्य सरकार सधै सकारात्मक रहेको भन्दै सिंगो अमेरिकाले यसलाई अंगाल्नेमा आफु आशावादी भएको बताउनु भयो ।

त्यस्तै महावाणिज्यदुत गौतमले न्यूयोर्क राज्य सरकारले गरेको घोषणाले दूई देशबीचको आपासी सम्पन्धलाई थप गाढा बनाउने भन्दै नेपाल सरकार अमेरिकासँगको दुई पक्षिय हितका लागि सधै सहकार्य गर्न तयार रहेको बताउनु भयो । कार्यक्रममा दुबै पक्षबाट मायाको चिनो साटासाट गरिएको थियो ।

कार्यक्रममा न्यूयोर्क राज्यसभाको तर्फबाट फिप्नाका अध्यक्ष लोक चेम्जोङ, महासचिव नरेन्द्र थापालाई सम्मान गरिएको थियो । त्यस्तै नेपाल डे घोषणाका लागि विशेष पहल गर्ने दिपेन्द्र लामा, आरती मगर र सजिना श्रेष्ठलाई पनि राज्य सभा सदस्य जेनिफरले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिव चार लाखको हाराहारीमा नेपालीहरुको बसोबास रहेको छ । त्यसमध्ये अधिकांश नेपालीहरु न्यूयोर्क राज्यमा बस्ने गरेको विभिन्न तथ्यांकले देखाएको छ । न्यूयोर्कमा नेपाली पहिचानका लागि नेपाल डे परेड भने २०१६ देखि गर्न सुरु गरिएको थियो । न्यूयोर्क सिटीले यसलाई मान्यता दिएको भए पनि अहिले भने राज्यसभाले नै यसलाई मान्यता दिएको हो ।