दानियल सुनुवार, दोलखा। १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नगरस्तरीय युवा तथा खेलकुद समिति जिरीले जिल्ला स्तरीय अन्तरपालिका खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको छ। नगरले आज खेल उद्घाटन गर्दै खेल आयोजना गरेको हो।

जिरीको जेटिएसको खेलमैदानमा उद्घाटन गरिएको भलिबल प्रतियोगिता जिरी नगरपालिकाका नगर प्रमुख टंक  जिरेलद्वारा खेल उद्घाटन भएको थियो। खेलमा दोलखा र रामेछापका आठ टीमको सहभागिता रहेको छ।

जिरी नगरपालिका खेलकुद समितिका अध्यक्ष नुर्वु शेर्पाको अध्यक्षतामा आज औपचारिक कार्यक्रमबीच खेल उद्घाटन भएको हो। खेलमा रामेछापबाट एक टीमले सहभागिता जनाएका छन्।

डिफेण्डिङ् च्याम्पियन ग्रामीण सेवा युवा परिषद् रस्नालु ३ गोकुलगंगा रामेछापले जिरी मा.वि.सँग उद्घाटन खेलको सामना गरेको थियो। उद्घाटन खेलमा ग्रामीण सेवा युवा परिषद् रस्नालुले २-० सेटले जिरी मा.वि.लाई पराजित गर्दै विजयी सुरुवात गरेको छ।

 परिषद्ले अर्को खेल वि.गु. गाउँपालिकासँग प्रतिस्पर्धा गर्नेछ। यस प्रतियोगितामा विजयी टीमलाई नगद ५० हजार, दोस्रो र तेस्रो हुनेलाई क्रमश: ४० र २० हजारसँगै प्रमाणपत्र र आकर्षक ट्रफीको व्यवस्था गरेको छ। खेल २४ गते अर्थात अन्तर्राष्ट्रिय महिला दिवसको दिन मार्च ८ मा सम्पन्न हुनेछ।