सिन्धुली। सिन्धुली जिल्लास्थित फिक्कल गाउँपालिका वडा नं. १ का २ सय विपन्न घरपरिवारलाई सोलार वितरण गरिएको छ। शनिबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच करुणा सेचेन र उज्यालो घर प्रा.लि.द्धारा सञ्चालित ग्रामिण सौर्य उर्जा वितरण तथा महिला सशक्तिकरण परियोजनामार्फत गाउँपालिकाको संयोजनमा सोलार वितरण गरिएको हो।

गाउँपालिकाको समन्वयमा सञ्चालित परियोजनाले वडा नं. १ का २० वाट भन्दा कमवाट सोलार भएका २ सय विपन्न घरपरिवारलाई ८० प्रतिशत अनुदानमा सोलार वितरण गरेको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताउनु भएको छ। यस परियोनाले चार जना महिलाहरूलाई सीप विकासमार्फत जीविको पार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले सोलार जडान तथा मर्मतको तालिम दिई सकेको र सोलार जडानको कार्य उहाँहरूमार्फत हुने जनाउनु भएको छ। साथै, स्थानीय महिलाहरूलाई वाईरिङ् सम्बन्धित तालिम सञ्चालन गर्ने कार्यक्रम रहेको बताउनु भयो।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीको प्रमुख आतिथ्यतथा तथा करुणा सेचेनका प्रबन्ध निर्देशक सलब राणाको अध्यक्षतामा भएको थियो भने गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवार, उज्यालो घर प्रा.लि.का बलमान छन्त्याल, वडा नं. १ का अध्यक्ष तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यसअघि, कोभिड -१९ को जोखिमका बीच करुणा सेचेन संस्थाले गाउँपालिकाको सबै विद्यालयहरूमा स्यानिटाईजर तथा मास्क वितरण गरेको थियो।