बेलायत। किरात राइ जातिको धेरै बसोबास भएको तेस्रो मुलुकको रुपमा परिचित संयुक्त अधिराज्य (बेलायत/ब्रिटेन)का किरात राई जातिरूको साझा प्रतिनिधिमूलक संस्था किरात राई यायोक्खा बेलायत भाषिक संघात्मक प्रणालीमा रुपान्तरण हुने भएको छ । किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्य समितको १७ अक्टोबर २०२० मा बसेको बैठकमा प्रस्तुत सङ्कल्प प्रस्ताव अर्थात वर्तमान सङ्गठनात्मक संरचनालाई संघीय ढाँचामा रुपान्तरण गर्ने सम्बन्धीको प्रस्ताव कार्यसमितको पूर्ण सहमतिमा पारित भएको थियो, भने संस्थाको १९ डिसेम्बर २०२० मा सम्पन्न  वार्षिक साधारण सभाले उक्त सङ्कल्प प्रस्तावलाई सङ्गठनको आगामी कार्यदिशाको रुपमा अनुमोदन गरेको थियो ।

वर्तमान नेपालको प्राचीन जातिको रूपमा परिचित किरात राई जातिभित्र पछिल्ला अभिलेखहरूमा उल्लेख भए अनुसार २८ भाषी/थरी समुदायहरू रहेको पाइन्छ। तिनै किरात राई जातिभित्रका करिब सबै भाषिक/थरीका समुदायहरू हाल बेलायतमा स्थायी बसोबास गर्दै आएको र उनीहरूको अनुमानित कूल जनसङ्ख्या २०-२५ हजारको हाराहारीमा रहेको  अनुमान लगाउने गरिएको पाइन्छ । ब्रिटेनमा बसोबास गर्ने यीनै किरात राई जातिको साझा प्रतिनिधि मूलक संस्था/सङ्गठनको रूपमा किरात राई यायोक्खा बेलाय सन् २००४ मा स्थापना भएको  पाईन्छ। बसाई सराईसँगै आफूसँगै लिएर आएको संस्कार संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तामा हस्तान्तरण गर्ने, आपत विपद्‍मा परस्पर सहयोग गर्ने, करात राई जातिलाई एकसुत्रमा बाँध्ने उद्देश्यसहित स्थापना भएको यस संस्थाले स्थापनाको छोटो अवधिमा उल्लेख्य उपलब्धी हासिल गरेको पाईन्छ । 

विशिष्ट जाति किरात राई जाति भित्रका सबै भाषिक/थरी समुदायको सम्मान स्थापित हुने र सबै प्रकारको आन्तरिक द्वन्द्व व्यवस्थापन हुने भएकाले संस्थाले यस सङ्कल्पसँगै आगामी कार्यदिशाको रूपमा आत्मसाथ गर्नु परेको कार्यसमिति सम्पूर्णको भनाई रहेको छ । गएको २१ नोभेम्बर २०२० का दिनदेखि संस्थागत तवरबाटै "किरात राईहरूको बृहत् एकताबारे संघीय सङ्गठनात्मक संरचनाको प्रस्ताव एक अभियान" शीर्षकको दस्तावेज सार्वजनिक गर्दै औपचारिक प्रचार-अभियान थालनी भएको पाईन्छ । पचपन्न पृष्ठको उक्त दस्तावेज  संस्थाको आधिकारिक वेबसाइट  http://www.kryuk.org/Federal_Structure.pdfमा उपलब्ध रहेको पाईन्छ  ।

किरात राई यायोक्खा बेलायत संस्थाको वर्तमान संगठनात्मक संरचनालाई भाषिक संघात्मक  प्रणालीमा रुपान्तरण गर्ने सम्बन्धी संस्थाले व्यापक प्रचारप्रसार अभियानको थालनी गरेको संस्थाका उपाध्यक्ष तथा संयोजक सुमनचन्द्र राईले बताउनु भयो  । किरात राई जातिभित्रका सबै भाषिक/थरी समुदायको साझा प्रतिनिधिमूलक संस्थाले सबै सम्मान स्थापित गर्दै त्यसलाई प्रतिबिम्वित गरोस् भन्ने अर्थमा सङ्घात्मक संरचनलाई बुझ्न यसका अभियानकर्मीहरूको भनाई रहेको छ ।  किरात राई ईन्द्रेणी समाज, साझा प्रतिनिधि संस्था, इतिहास, सामाजिक न्यायसहित किरात राईहरूको बृहत एकताको लागि संघात्मक संरचनाको विकल्प नरहेको अभियान्ताहरूको स्पष्टोक्ति रहेको छ ।