बेलायत । नेपाल सरकारले काठमाडौंको चक्रपथ बिस्तारको क्रममा विश्व सम्पदामा सुचिकृत स्वयम्भुनाथ क्षेत्रमा बौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको सिमा स्तम्भ र त्यसभित्र रहेको हातले घुमाउने माने र हजार बुद्धको मुर्ति सहितको स्तुपा (साङ्गे तोङकु) समेत भत्काउन गरेको निर्णय प्रति नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मङ्गलबार एक विज्ञप्ति जारी गर्दै नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवारद्धारा हस्ताक्षरीत विज्ञप्तिमा शान्तिको अग्रदुत गौतम बुद्ध जन्मेको देशमा राज्यबाट हुने यस प्रकारको गैरजिम्मेवार निर्णयबाट सम्पूर्ण बौद्द धर्मावलम्वीहरुको मात्र नभएर नेपाल, बेलायत र विश्वभर छरिएर रहेका हामी समस्त ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाप्रेमी नेपाली आदिवासी जनजातिहरुको भावनामा गम्भीर चोट पुर्‍याएको उल्लेख छ ।

सरकारले मुलुकमा सबै धर्मका अनुयायीहरुको अभिभावक बन्दै धार्मिक–ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नु पर्नेमा सरकार उल्टो गैरजिम्मेवार ढंगले यसरी अघि बढ्नु अत्यन्तै दुखद भएको र विश्व सम्पदा सूचीमा सूचिकृत ऐतिहासिक, धार्मिक सम्पदालाई बचाउन अन्य विकल्पको खोज्‍न विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

विज्ञप्तिको अन्तमा सरकारले जनभावनाको बेवास्ता गर्दै विश्वसम्पदा सूची र आदिवासीहरुको भावनामा खलल पुर्‍याउने गतिविधि गरे नेपालमा जारी विरोध बेलायत र विश्वभरबाट सशक्त बनाउने चेतावनी दिईएको छ । त्यस्तै स्वयम्भु बचाउन नेपालमा भईरहेको विरोध प्रति नेफिन यूकेले ऐक्यवद्दता जाहेर गरेको छ ।