खाङसाङ। फिक्कल गाउँपालिका वडा नं. -०४ स्थित महाकाली मा.वि. मा स्वतन्त्र उद्यमशिल युवा संस्थाको आयोजना र फिक्लक गाउँपालिकाको आर्थिक सहयोगमा लोक सेवा तयारी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। लोक सेवा अभिमुखिकरण तथा खरिदार वा सो सरहको पदको लोक सेवा तयारी कक्षा कार्यक्रम सम्पन्न भएको हो। 

गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार ग्रामिण क्षेत्रका युवा विद्यार्थीहरू लोक सेवा तयारीका बारेमा अनभिज्ञ रहेको र हाल लोक सेवा आयोगले व्यवस्था गरेको समावेशीकरणका बारेमा समेत सचेतिकरण गराउनका लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो। अभिमुखिकरण कार्यक्रममार्फत विद्यार्थीको हौसला बढाई सकेसम्म धेरै विद्यार्थिहरूलाई लोक सेवाको प्रतिस्पर्धामा सहभागि गराउनका लागि सात दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको बताउनु भयो।

कार्यक्रममा विद्यार्थीहरूलाई लोक सेवा के हो? प्रतिस्पर्धाको लागि विज्ञापन कहिले खुल्छ? आवेदन कहिले, कसरी दिने? प्रतिस्पर्धामा सहभागि हुन के कति  योग्यता चाहिन्छ? लोक सेवाको पाठ्यक्रम कस्तो हुन्छ? लगायतका आधारभुत जानकारी प्रदान गर्नुको साथै रा.प. अनंङ्कित द्वितीय श्रेणी खरिदार वा सो सरह पदको पहिलो चरण अन्तर्गतको सामान्यज्ञान र सामान्य बौद्धिक परीक्षणको कक्षा सञ्चालन गरिएको हो। उक्त कार्यक्रममा २५ जना विद्यार्थीहरूको सहभागिता रहेको र उनीहरूलाई खरिदार वा सो सरहको पुस्तक समेत वितरण  गरिएको छ।

स्वतन्त्र उद्यमशिल युवा संस्थाका सञ्चालक विशाल बरालले कार्यक्रमको व्यवस्थापन गर्नु भएको थियो भने लोक सेवाको प्रतिस्पर्धाबाट रा.प. तृतिय श्रेणी शाखा अधिकृतहरूबाट अभिमुखिकरणको सहजिकरण गर्नु भएको थियो।