रामेछाप। गोकुलगंगा गाउँपालिकाको वडा नं. ३ रस्नालु र वडा नं. ४ बेतालीमा क्रमश २५ र १६ जनामा गरिएको परीक्षणमा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। वडा नं. ४ बेतालीमा गरिएको १६ जनामध्ये १ जनामा सङ्क्रमण पुष्टि भएको हो। 

नयाँ भेरिएन्ट सहितको कोरोना सङ्क्रमण गाउँगाउँसम्म फैलिएपछि गोकुलगंगा गाउँपालिकाले वडावडामै पुगेर कोरोना परीक्षण गर्ने अभियान अन्तर्गत आज वडा नं. ३ र ४ मा क्ट्याक्ट ट्रेसिङ्‍मा रहेका र मिल्दोजुल्दो लक्षण भएकाहरूको परीक्षण गर्ने क्रममा १ जनामा सङ्क्रमण देखिएको गाउँपालिका अध्यक्ष खड्ग सुनुवारले बताउनु भएको छ। 

गाउँपालिकाको जेठ ७ गतेको निर्णयअनुसार आज जेठ १० गतेदेखि १२ गतेसम्म गाउँपालिकाको सबै वडाहरूमा पुगेर एन्टजेन विधिबाट कोभिड १९ सङ्क्रमण परीक्षण गर्न लागेको हो। सोही अभियान अन्तर्गत गाउँपालिकाले आज चुचुरे स्वास्थ्य चौकी, खरानेटार र ठोसे स्वास्थ्य चौकी, ठोसे बजारमा परीक्षण गरिएको छ। आज गाेकुलगङ्गा वडा नं. १ चुचुरे र वडा नं. -२ ठाेसेबजारमा ५२ जनाकाे एन्टिजेन बिधिबाट परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको गाउँपालिका अध्यक्ष खड्ग सुनुवारले बताउनु भएको छ।

सोही अभियान अन्तर्गत भोली जेठ १२ गते बिहान १० बजेदेखि १ बजेसम्म नामाडी स्वास्थ्य चौकी, नामाडीमा र १:३० बजे देखि ४:३० बजेसम्म फर्पु स्वास्थ्य चौकी, फर्पुमा परीक्षण हुने अध्यक्ष सुनुवारले बताउनु भएको छ।