सिन्धुलीमाढी। सिन्धुलीमा आज कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमणबाट १ जना वृद्धको ज्यान गएको छ। कमलामाई नगरापालिका ७ का ८६ बर्षिय वृद्धको सिन्धुलीको कोभिड अस्पताल शिवनगरमा आउने वित्तिकै मृत्यु भएको हो।

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख जितेन्द्र शाहका अनुसार वृद्ध दमको रोगि थिए । उनलाई तीन दिन अघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका थिए। आज श्वासप्रश्वासमा समस्या, ज्वरो आएपछि आज बिहान अस्पतालमा उपचार गर्न आउने बित्तिकै मृत्यु भएको शाहले बताए । वृद्धको शव वडा नं ७ कै हाबेडण्डि डाँडाँमा नेपाली सेनाले ब्यबस्थापन गरेको हो। कोरोना भाइरसको नयाँ भेरियन्टबाट जिल्लामा आज सम्म ३ जनाले ज्यान गुमाइसकेका छन्।

यस्तै आज मात्रै सिन्धुलीमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १ सय १ जनाको परिक्षण गरिएकोमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय सिन्धुलीले जनाएको छ । यो संगै नयाँ भरियन्टको कोरोना संक्रमणबाट जिल्लमा ३ सय ६ जना संक्रमित भइसकेका छन् । १ सय २६ जनाको पिसिआर बाँकि रहेको छ । ८ जना निको भएर घर फर्किएको जनाइएको छ ।

यसैबीच कमलामाई नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर खत्री कोरोना संंक्रमित भएर होम आइसोलेसमा बसेका व्यक्तिहरुको घरघरमा पुगेका छन्। कोरोना संक्रमितहरुको आत्मबल बढाउनका लागि मेयर खत्री घरमै पुगेर हौसल्ला प्रदान गरेका हुन् । कमलामाई नगरपालिका ५ काँराघारमा संक्रमित व्यक्ति लाई हौसला प्रदान गर्नका लागि आज वडा नं ५ का वडा अध्यक्ष पुर्ण बहादुर खड्का सहित उक्त स्थानमा पुग्नु भएको हो । कोरोना संक्रमितलाई नआत्तिकन रोग संग लड्नका लागि सुझाब दिएको नगर प्रमुख खत्रीले बताए ।