इलाम। रोङ गाउँपालिका इलाममा प्रत्येक वर्ष सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डको स्थानीय तह छनौट खेल रोङ गाउँपालिकामा सम्पन्न भएको छ। रोङ गाउँपालिकाका खेलकुद संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष युवराज खाप्तुवा राईको संयोजकत्वमा छनौट सम्पन्न भएको हो।

रोङका विभिन्न नौ वटा माध्यमिक विद्यालयहरू सहभागी भएको छनोट खेलमा एथलेटिक्स तर्फको खेलहरूमा १३ स्वर्ण, २ रजत, ४ कास्यसहित स्थानीय तहमा रोङ ३ को शान्ति निकेतन मा.वि. प्रथम विद्यालय भएको छ भने ५ स्वर्ण, ३ रजत, ३ कास्यसहित रोङ २ को शशि मा.वि. द्वितीय र ४ स्वर्ण ५ रजत, ४ काँस्यसहित रोङ १ को शान्तिपुर मा. वि. तृतीय हुन सफल भएको छ। सबै सफल विद्यालयहरूले ट्रफी सहित प्रमाणपत्र प्राप्त गरेका छन्। रोङ गाउँपालिकाको आयोजनामा शान्ति निकेतन मा विको संयोजनमा शान्ति निकेतन मा विको खेलमैदानमा सञ्चालन भएको थियो। १३ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनोट आगमी चैत १३,१४ र १५ गते इलाम टुँडिखेलमा सञ्चालन हुनेछ । मार्सल आर्ट तर्फ कराते र तेक्वान्दोको खेल जिल्ला छनोट क्रमशः चैत १० र ११ गते कुटीडाँडा डोजोमा हुने भएको छ ।

रोङ गाउँपालिका अध्यक्ष शमशेर राईको प्रमुख अतिथि, उपाध्यक्ष चन्द्रकला राई, प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराई , वडा नम्बर ३ का वडाध्यक्ष मात्रिका बराल, शिक्षा , युवा तथा खेलकुद शाखा रोङका प्रमुख श्रुतिकुमारी तामाङको विशेष अतिथि तथा रोङका विभिन्न मा. वि. का प्रधानाध्यापक, शिक्षक, खेलकुद प्रशिक्षक , पत्रकार, जनप्रतिनिधि लगायतका अतिथि रहेको खेलकुद कार्यक्रमको चैत ६ गते उद्घाटन भएको थियोे ।