सिन्धुली। फागुन २४ गते अर्थात मार्च ८ मा अन्तर्राष्ट्र्रिय महिला दिवसको अवसरमा कमलामाई नगरपालिकाले १४ वटै वडाका एकल तथा विपन्न महिलाहरूलाई २० हजार नगद सहित सम्मान गर्ने भएको छ। आज कमलामाई नगरपालिकाको आयोजनामा भएको छलफल कार्यक्रममा कमलामाई नगरपालिकाका नगर उपप्रममुख मन्जु देवकोटाले यस्तो जानकारी दिनु भएको हो।

नगरपालिकाको १४ वटा वडाका एकल, विपन्न महिला जो उद्यम व्यवसायी गर्न रुची भएका महिलाहरूलाई नगरपालिकाले वडा मार्फत २० हजाररुपैयाँसहित सम्मान गर्ने कार्यक्रम रहेको छ। एकल तथा विपन्न महिलाहरूलाई उत्पादनमा जोड दिने उदेश्यले सहयोग गर्न लागिएको उपप्रमुख देवकोटाले बताउनु भयो।

त्यस्तै अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १ वर्ष माथिका ज्येष्ठ नागरिकलाई हेरचाह गर्न २ नं वडाका शिव कुमारी पाटा मगर र १३ नं वडाका हेम कुमारी राना मगरलाई उत्कृष्ट स्याहार कर्ताको स्वरुप ५ हजारकादरले आर्थिक सहित सम्मान गरिने जनाइएको छ। कमलमाई नगरपालिकाका शाखा प्रमुख सत्यदेवी अधिकारीका अनुसार कमलामाई नगरपालिकाले महिला दिवसका लागि १ लाख ९० हजार बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो।

उहाँको अनुसार २३ गते साँझ ५ बजे जुनार चोकमा दीप प्रज्वलन गरिने भएको छ। साथै, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला मानव अधिकार रक्षक सञ्जाल सिन्धुलीले लैंगिक समानता र समान कामका लागि समान ज्याला विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको रमा कार्कीले जानकारी दिनुभयो।

त्यस्तै ह्याड्स नेपाल सिन्धुलीले खट्टार स्कुलमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको जनाएको छ। नगरस्तरीय किशोरी सन्जालले र्‍याली तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको जनाएको छ। साथै, सामाजिक विकास कार्यक्रम सिन्धुलीले सुनकोशी गाउँपालिकामा महिला उद्यमशिल प्रदर्शन गर्न साविकाका जनक विकले जानकारी दिनुभयो ।