रगतमा आवश्यकताभन्दा बढी चिनीको मात्रा हुनु मधुमेह हो । मधुमेह सरुवा रोग भने होइन तर कसै कसैमा वंशानुगत भने हुन सक्छ । दैनिक जीवनमा खानपान र रहनसहनको कारण मधुमेह लाग्ने गरेको छ । मधुमेह लागेमा सन्तुलित भोजनका साथै नियमित कसरत गरेर चिनीको मात्रलाई सन्तुलनमा राख्न सकिन्छ ।

एक अध्यनको अनुसार ४० वर्षमाथिका चार जनामध्ये १ जनालाई मधुमेह हुने गरेको पाइएको छ । यसको समयमा नै ख्यान नगरे यसको मात्र बढ्दै जाँदा आँखा मृगौला मस्तिस्क मुटुलगायतका अंगहरुमा असर गर्छ ।

सामान्यतय शरीरमा इन्सुलिनको उत्पादन कम हुँदा रगतमा ग्लुकोजको मात्रा बढ्न गइ मधुमेह हुने गर्छ ।  त्यस्तै उत्पादित इन्सुलिनले प्रभावकारी काम नगर्दा पनि रगतमा ग्लुकोजको मात्रा बढी हुँदा पनि मधुमेह लाग्ने गर्छ ।

सामान्यतय मधुमेह ४० वर्ष माथिका मानिसहरुमा लाग्ने गर्दछ । मधुमेहबाट छुटकारा पाउन सबैभन्दा बढी सन्तुलित खानपानमा ध्यान दिनुपर्छ । त्यसको साथसाथै शरीरिक कसरत पनि आवश्यक पर्छ । त्यस्तै चिकित्सकको सल्लहअनुसार आवश्यक औषधी पनि सेवन गर्नु पर्दछ । बेलैमा यसको नियन्त्रण गर्न सकिएन भने आँखा मुटु मृगौला मस्तिष्कहरुमा असर पुर्याउने हुँदा समय समयमा मधुमेहको चेक गरिरहनु राम्रो हुन्छ ।

मधुमेह लागेको यसरी थाहा पाउने
•    मुख सुख्खा हुनु, बढी तिर्खा लाग्नु ।
•    पटकपटक पिसाब लाग्नु र पिसाबको मात्रा धेरै हुनु ।
•    राम्ररी खाना खाए पनि दुब्लाउँदै जानु ।
•    भोक धेरै लाग्नु ।
•    घाउ खटिरा आइरहनु र समयमा निको नहुनु ।
•    यौन दुर्बलता ।
•    शरीर र खासगरी गुप्ताङ्ग चिलाउनु ।
•    दृष्टि धमिलो हुनु ।
•   हातगोडा झमझमाउनु ।
•    जिउ गलेको महसुस हुनु ।

मधुमेह लाग्न नदिन

•   दैनिक पसिना आउने गरि शारीरिक कसरत गर्ने ।
•   तौल सन्तुलन गर्ने ।
•    प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेशादार खानेकुरा खाने ।
•    चुरोट, बिडी, तमाखु, खैनी, जर्दा आदि सूर्तीजन्य पदार्थहरुको सेवन नगर्ने ।
•    ४० वर्ष नाघेका मानिसले नियमित स्वास्थ्य परीक्षण गर्ने ।
•    बच्चालाई दुई वर्षको उमेरसम्म आमाको स्तनपान गराउने ।

मधुमेह बिरामीले के खाने के नखाने ?

•    कार्बोहाइड्रेटयुक्त खाना जस्तै: भात, आलु कम खाने ।
•    चिल्लो वा बोसो नभएको मासु खाने तर रातो मासु धेरै नखाने ।
•    अण्डा र ताजा माछा ठिक्क मात्रामा खाने ।
•    ताजा सागसब्जी, बन्दा, काउली, काँक्रा, भन्टा, गोलभेंडा, मुला, गाँजर,प्याज र फलफूल पर्याप्त खाने ।
•    अमिलो अचार खाने ।
•    झोल वा सुप खाने ।
•    नुन कम खाने ।
•    चिनी कम भएको चिया वा कफी कम मात्रामा पिउन सकिन्छ ।
•    तरकारी पकाउँदा तोरी अथवा भटमासको तेल कम मात्रामा खान हुन्छ ।
•    सकभर बढी फाइबर हुने गहुँ, मकै, कोदो, फापर आदिबाट बनेका खानेकुरा खाने ।


मधुमुहेको विरामीले खाना नहुने

•    चिनी र चिल्लो बोसोयुक्त प्रशोधित खानेकुरा जस्तै: चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेय पदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यु, तारेको वा भुटेको खाना नखाने ।
•    बियर, रक्सी जस्ता अल्कोहलयुक्त पदार्थ सेवन नगर्ने ।
•    चुरोट, बिँडी, सुर्ती, तमाखु, खैनी, जर्दा आदि सुर्तीजन्य पदार्थको सेवन नगर्ने ।
•    लामो समयसम्म भोकै नबस्ने ।
•    व्रत नबस्ने । यसो गर्दा रगतमा चिनीको मात्रा घट्न गई बिरामी बेहोश पनि हुन सक्छ ।


उपचार

•  चिकित्सकको सल्लाहअनुसार इन्सुलिन वा आवश्यक औषिधिको नियमित प्रयोग गर्ने ।
•  सन्तुलित खानपानमा ध्यान दिने ।
•  दैनिक शारीरिक कसरत गर्ने ।

(ग्राण्डी अस्पतालका डा. पन्थीले दिएको सल्लाहमा आधारित)