काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोल लगायतका औषधीको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव अभाव हुन नदिन गृह मन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन् । 

आज प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकरदाश बैरागीलाई बोलाएर औषधी अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधी उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिएका थिए । त्यस लगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधी व्यवस्था विभाग लगायत औषधी उत्पादक कम्पनीहरूसँग पनि परामर्श गरेको थियो । औषधीको अभाव नहुने गरी अघि बढ्न औषधी उत्पादकहरु तयार भएका छन् । यदि कसैले औषधीको कृत्रिम अभाव सृजना गरेको पाएका तत्काल कारबाही गर्ने गरी निर्देशन गएको छ ।

यता,औषधि व्यवस्था विभागले अनावश्यक रुपमा सिटामोल मौज्दात नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।

कोरोना संक्रमण बढेका बेला पछिल्लो समय बजारमा सिटामोल अभाव देखिएको थियो । विभागले भने आपूर्ति चक्रमा केही समस्या भएका कारण केही स्थानमा सिटामोल अभाव भएको बताएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले उत्पादक कम्पनीहरुले हालै ५ करोड ८० लाख ट्याबलेट सिटामोल बजार पठाएको जानकारी दिनुभयो । यस्तै, सरकारी स्वमित्वको नेपाल औषधि लिमिटेडसहितका उत्पादकले मौज्दातमा रहेको १५ लाख ट्याबलेट सिटामोल २ दिनमा बजार पठाउने प्रतिबद्धता जनाएका छन् ।

यसैबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिटामोलको कृत्रिम अभाव सृजना नगर्न औषधि पसल सञ्चालकहरुलाई आग्रह गरेको छ । बजारमा सिटामोलको उत्पादनमा समस्या नभएको भन्दै विभागले सिटामोलको कालोबजारी गरे वा कृतिम अभाव सृजना गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ ।००००