रामेछाप। सुरक्षित आप्रवासन परियोजना (सामी) रामेछापले चालु आर्थिक वर्षको हालसम्म एक हजार ३सय १७ जनालाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी परामर्श दिएको छ।

चालु आर्थिक वर्ष २०७७/०७८ को वर्षको माघ महिनासम्म जिल्ला प्रशासन कार्यालय रामेछापमा पासपोर्ट बनाउन आएका ४ सय ८९ जना महिला र ८ सय ३८ जना पुरुषलाई आप्रवासी सूचना केन्द्रमार्फत सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी परामर्श प्रदान सामीले दिएको हो ।

चालु आ.व.को माघ महिना सम्म ५सय ४२ जना महिला र ९ सय २० जना पुरुष गरि एक हजार ४सय ६२ जना पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालयमा आएको सामी परियोजनाका परामर्शकर्ता सिर्जना बस्नेतले बताउनुभयो । यस  अवधिमा परियोजनाको १२ जना रिटर्नी स्वयमसेवकमार्फत वैदेशिक रोजगारीमा जान तयार परेका व्यक्ति र वैदेशिक रोजगारीमा गएकाको परिवार गरी एक हजार २सय ३८ जनालाई व्यक्तिगत भेटघाट गरेर सुरक्षित वैदेशिक रोजगारीका बारेमा जानकारी प्रदान गरिएको परामर्शकर्ता बस्नेतले बताएका छन् । उनकाअनुसार  जिल्लाका आठ स्थानीय तहमध्ये मन्थली नगरपालिका,सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका र उमाकुण्ड गाउँपालिकाले सकेसम्म स्वदेशमै रोजगारीको दिलाउन र विदेश जानेहरुलाई पनि दक्ष र सुरक्षित बनाउन सामी परियोजना मार्फत संयुक्त रुपमा लागि परेका छन्। विदेश जाने आफ्ना नागरिकहरुलाई स्वदेशमै रोजगारी दिन स्थानीय तहले लघु उद्यमसंग सम्बन्धित कार्यक्रमहरु , श्रमदान मूलक योजनाहरुको छनौट , युवा उद्यम कार्यक्रमहरु , रिटर्नी स्वयंमसेवक परिचालन जस्ता कार्यक्रम सञ्चालनलाई जोड दिएका छन्।

विदेश जना तयार परेका युवाहरुलाई स्वदेशमै रोजगारी दिन र विदेश जानेहरुलाई पनि आवश्यक सीप प्रदान गरी दक्ष र सुरक्षित बनाउन पशुपालन , कृषि र उद्योग सञ्चालन लगायतबाट रोजगारी प्रदान गर्ने योजना अघि सारिएको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले बताएका छन् । ।