इलाम । इलाम जिल्लाको रोङ गाउँपालिकामा "सामाजिक रूपान्तरणका लागि युवा" जीविकोपार्जनको लागि सुरक्षित आप्रवासन र स्व-उद्यमशीलता सम्बन्धी युवा सशक्तीकरण दश दिने तालिम सम्पन्न भएको छ ।

युवा सशक्तिकरण समूहहरूको क्षमता विकास र परिचालन मार्फत मानव बेचविखन विरूद्ध अभियान अन्तर्गत पौष १६ गतेदेखि सुरु भएको १० दिवसीय सीपमूलक तालिमको शनिबार (आज) समापन भएको हो।

युवा सशक्तीकरण सञ्जाल रोङका अध्यक्ष तेजकुमार आचार्यको अध्यक्षतामा रोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराईको प्रमुख अतिथि, रोङ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बुद्ध कार्की, वडा नम्बर ३ का वडाध्यक्ष मात्रिका बरालको विशेष अतिथि पशुसेवा शाखा प्रमुख मिङ्मा रेन्जी शेर्पा, तालिम सहजकर्ता  गोपाल राई,वेदनिधि दाहाल, बद्रीगोपाल आचार्य,मानव अधिकार मञ्च नेपाल इलामका रञ्जु थामी, परामर्शदाता दिलिमा राई, पाथिभरा क्षेत्र विकास कोषका सदस्य नरबहादुर खवासको अतिथि रहेको थियो । युवा सशक्तीकरण सञ्जाल रोङ ५ का अध्यक्ष बिशाल राईले स्वागत मन्तव्य राखेको कार्यक्रममा खुल्ला अन्तरक्रिया समेत भएको छ ।

सहभागीहरूले व्यवसाय गर्न स्थानीय सरकारले गर्न सक्ने सहयोग कस्तो हुन सक्छ भनेर चासो व्यक्त गरेका थिए , तालिम लिएर व्यवसाय गर्ने  पनि सहभागीहरूले प्रतिबद्धता व्यक्त गरेका थिए ।बङ्गुरपालन , बाख्रापालन तथा कुखुरापालन सम्बन्धी सीपमूलक तालिम प्रदान गरिएको तालिमको आज समापन गरिएको हो ।

कार्यक्रममा  प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराईले युवाको जोशजाँगरमा, सीपमूलक काममा,व्यवसाय तथा व्यवसायिक क्षेत्रमा आवश्यक सबै सके सम्मको पुगेसम्मको सहयोग, सुझाव, सल्लाह दिने प्रतिबद्धता व्यक्त गर्दै भूमि सुधारको लागि प्रक्रिया भइरहेको र भूमि नभए लिजमा लिएर कृषि फर्म दर्ता गरेर पनि व्यवसाय सञ्चालन गर्न सकिने बताएका छन्। त्यसै गरी यस्ता व्यवसाय सुरु भएपछि गर्नुपर्ने सहयोग, सेवाको  पहलमा साथ दिने वडा नम्बर ३ का वडाध्यक्ष मात्रिका बरालले बताएका छन् । दस दिने तालिम लिएर आफूहरू व्यवसाय सञ्चालन गर्न सकिन्छ भनेर आँट आएको तालिममा सहभागीहरूले बताएका छन् ।

यो तालिमलाई तालिममा मात्र सिमित नराखी व्यवहारमा ल्याउन सक्नुपर्ने र अझ प्रभावकारी बनाउन व्यवसाय गर्नुपर्ने युवा सशक्तीकरण सञ्जाल रोङका अध्यक्ष एवम् सभापति तेजकुमार आचार्यले बताए ।  रोङ गाउँपालिकाको सभाहलमा भएको कार्यक्रमको सञ्चालन सशक्तीकरण सञ्जालको सचिव दिनेश निरौलाले गरेका थिए ।