सिन्धुलीमाढी। रोटरयाक्ट अफ क्लब सिन्धुलीगढीले कोभिड अस्पताल सिन्धुलीलाई अक्सिजन उत्पादन गर्ने कन्सेन्ट्रेटर मेसिन सहयोग गरेको छ। हिजो रोटरयाक्ट क्लबका सचिव सुदर्शन शाहीले अस्पतालका अध्यक्ष प्रलाद पोख्रेललाई दुई वटा कन्सेन्ट्रेटर मेसिन हस्तानतरण गरेका हुन्।

अक्सिजन उत्पादन गर्ने मेसिनको अभाव हुँदा कोभिड -१९ सङ्क्रमित बिरामीलाई समस्या भएकाले अस्पताले क्लबसँग सहयोग माग गरेको थियो । सोही अनुरुप अस्पताललाई दुई वटा मेसिन प्रदान गरिएको सचिव शाहीले बताए। प्यारेन्ट रोटरी क्लब अफ काठमाडौंको सहयोगमा अस्पतालाई अक्सिजन उत्पादन गर्ने मेसिन प्रदान गरिएको उनले बताए। रोटरयाक्ट क्लब सिन्धुलीमाढीमा १ वर्ष अगाडी सुजिता खड्काको अध्यक्षतामा गठन गरिएको क्लब हो। उक्त क्लबले हालसम्म विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ। कोरोना भाइरसबाट विश्वभर आतंकित बनाई रहेको कोरोना फैलिरहेकाले सिन्धुलीबासीले अक्सिजनको अभावका कारण ज्यान गुमाउन नपरोस भनेर मेसिन प्रदान गरिएको सचिव शाहीको भनाई रहेको छ। आवश्यक परेको खण्डमा कोभिड अस्पताललाई पछिल्ला दिनमा पनि सहयोग गर्ने उनले बताए।

अस्पतालका अध्यक्ष पोख्रेलले अक्सिजन उत्पादन गर्ने मेसिन सिन्धुलीसम्म ल्याइदिने मेघ बहादुर लामा, राज कुमार श्रेष्ठ र सहयोग गर्ने रोटरयाक्ट क्लब अफ सिन्धुलीगढीलाई धन्यवाद व्यक्त गरेका छन्। प्यारेन्ट रोटरी क्लल अफ काठमान्डौले यसअघि सुनकोसी गाउँपालिका र फिक्कल गाउँपालिकालाई १-१ वटा अक्सिजन उत्पादन गर्ने मेसिन प्रदान गरिसकेको छ।