सिन्धुलीमाढी। सिन्धुलीको कमलामाई नगरपालिका -७ बाँसकटेरीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक जना सामान्य घाइते भएका छन् । आज १५ हजार भोल्टेजको करेन्ट लागेर स्थानीय २१ वर्षिया शान्ती माया थिङको घटना स्थलमै मृत्यु भएको हो।

सोही स्थानका १५ वर्षिया गिता पाण्डे सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रवक्ता मनोज लामाले बताए। प्रहरी प्रवक्ता लामाका अनुसार बाँसकटेरीबाट सिन्धुली बजार आउने क्रममा उनीहरूलाई अचानक करेन्ट लागेको थियो। बाँसटेरीमा हिजो आएको हावाहुरीले बिजुलीको तार बाटोमा खसेको र सोही नाङ्गो बिजुलीको तार पन्साउने क्रममा दुबै जनालाई करेन्ट लागेको हो ।

मृतक युवतीको शव पोस्ट मार्टमका लागि सिन्धुली अस्पतालमा ल्याइएको छ। त्यस्तै, घाइतेको भने स्थानीय स्वास्थ्य चौकीमै उपचार भइरहेको लामाले बताए। यता स्थानीयले भने विद्युत प्राधिकरणको लापरवाहीले गर्दा युवतीको ज्यान गएको आरोप लगाएका छन्। हिजो नै नाङ्गो तार भुईमा चुडिएर खसेपछि प्रााधिकरणलाई खबर गरेपनि बेवास्ता गरेको स्थानीयले बताए।