छटपटी के हो ?
श्वास फेर्न नसकेर ज्यान फाल्दै गरेका
कोरोना संक्रमितलाई नसोध

छटपटी के हो ?
अक्सिजन खोज्दै रातभर जिल्ला प्रशासनमा गुहार्ने
अन्तिम श्वास फेर्दै गरेका विरामीका आफन्तलाई नसोध

छटपटी के हो ?
भरै बालबच्चालाई खुवाउने खाना नभएका
ज्यालादारी जनतालाई नसोध

छटपटी के हो ?
आफ्नै सन्तानको अनुहार अन्तिम पटक हेर्न नपाएका
अभागि आमाबुबाहरुलाई नसोध

छटपटी के हो ?
राजनीतिक दलहरुलाई सोध
कुर्सीका लागि मरिमेटेका नेताहरुलाई सोध
जसले कुर्सीबाहेक अरु रोग-भोग देख्दैन
उसैलाई थाहा छ आज
तनाव के हो-
छटपटी के हो ।