-अमरदीप सुनुवार

मान्छेहरुले जति सपना देखेपनी, 
मनहरुले जति सपना कोरलेपनी,
सपना त सपनाकै गर्भबाट जन्मिनुपर्छ ।

जसरी हेर्दा पनि 
जस्को आँखाले देख्दा पनि
सपना त सपना जस्तै हुनुपर्छ
सपनाहरुको संसारमा 
सपनाहरु हाँसखेल गर्दै
सपना त सपनाहरुसँगै हुकर्नुपर्छ।

सपना हिमाल हो,
सपनाले हिमालको सेतो जस्तै गरी टल्किनुपर्छ,
सगरमाथाको शिखर जस्तै गरी उभिरहनुपर्छ।

सपना नदी हो,
सपना सुनकोशीको पानी जस्तै बग्नुपर्छ,
झरनाको पानी जस्तै प्रकृतिमा खस्नुपर्छ।

सपना सौर्यमण्डल हो
सपना त सुर्यजस्तो अनन्त शक्तिशाली हुनुपर्छ
चन्द्रमा जस्तो कालरात्रीमा पनि उज्यालो प्रकाश छर्नुपर्छ।
सकल मनहरु शितलता छर्नुपर्छ ।

सपनाको भोको हुँ म,
सपनाहरु जति देखेपनि अघाउदिन,
सपनाहरु जति पिए पनि,
सपनाको तिर्खा मेट्नै सक्दिन।

सपनाको यात्री हुँ म,
सपनाहरुको उकालीहरु जती चढ्दा पनि थाक्दिन,
सपनाको जती जन्ती गएपनि थाक्दिन,
सपनाप्रति कति आकर्णष छ म भित्र,
सपना सित किन आकर्षित भएको होला म 
संसार सपना जस्तो देख्छु
सपनाहरुमा संसार हिडिरहेको देख्छु।

सपनाको जन्त जान पाईयोस्,
सपनाको ब्रम्हाण्डमा रम्न पाईयोस्, 
यो संसार सपनै सपनाहरुको ब्रम्हाण्ड हो,
यो ब्रम्हाण्ड सपनै सपनाहरुको संसार हो ।

सपनाहरुमा जीवन फुलाउन पाईयोस्
जीवनमा सपनाहरु सजाउन पाईयोस्
यहाँको माटोमा सपजाहरु उम्रिरहहन्छन्
यहाँका ढुङ्गामा सपनाहरु फूलिरहन्छन् ।

सपना सबैको प्यारो हुन्छ,
सबैका जीन्दगी सपना जतिकै प्यारा हुन्छन्
आगोमा सपनाहरु भर्भराईरहन्छन्
पानीमा सपनाहरु बगिरहन्छन्
हावामा सपनाहरु बहिरहन्छन्।

यहाँ जीवन सपनै सपना जस्ता,
आहा! सपनाहरु जीवन्त जीवन जस्ता,
यहाँका जीवन सपनाहरुको उत्सव जस्ता,
आहा! सपना जीवनको महोत्सव जस्ता ।

किनकी
सपनाहरु विपनाहरुलाई हँसाउनुपर्छ,
सपनाहरुले बिपनाहरुलाई खुसी पार्नुपर्छ,
सपनाहरुले विपनालाई डोर्याउनुपर्छ।

-सर्जक सुनुवार नेपाल सरकारका उपसचिव हुनुहुन्छ।