काठमाडौं। जिरेल समुदायको सांस्कृतिक पर्व "चेन पूजा" आज मनाएका छन्। ऐतिहासिक संस्कृति झल्काउने जिरेल समुदायको "चेन पूजा" फागुन पूर्णिमाका दिन पर्ने भएकाले ४० वर्षपछि पहिलो पटक यो पर्व  मनाइएको हो।

जिरेल समुदायका अगुवाहरुले जिरेल जातिको धर्म संस्कृतिलाई लोप हुन नदिन यस वर्ष ‘चेन पूजा’ आयोजना गरेका हुन्। आगामी वर्षदेखि यो पूजालाई निरन्तरता दिइने पूजा आयोजक समितिका अमृतबहादुर जिरेलले जनचासो खबरलाई बताएका छन् ।

‘चेन पुजा’का दिन जिरेल समुदायमा टाढा टाढाबाट इष्टमित्र भेला भई भेटघाट गर्ने, शुभकामना आदान प्रदान गरी मनाउने गरिन्छ। आफ्नो सांस्कृतिक भेषभुषामा मानिसहरु नाचगान गर्ने, रमाइलो गर्ने र वर्ष दिनको दु:ख पीडा भुलाउने गर्दछन्। किरात धर्मावलम्बी भएपनि जिरी आसपासका अधिकांश जिरेल समुदायले बुद्ध धर्म मान्ने गरेको समितिका अमृत बहादुर जिरेलले बताए। जिरेल जातिभित्रको एक शाखाको रुपमा जिरेल जातिलाई मानिन्छ।

आफ्नै भाषा, रीतिरिवाज, संस्कृति रहेको जिरेल जातिको उद्गमस्थल दोलखाको जिरीलाई मानिन्छ । जिरेल सुमदायमा आगो, वायु, पृथ्वी जस्ता प्रकृतिहरुको पुजा गर्ने परम्परा पनि चल्दै आएको छ। उद्गमस्थल दोलखा भएको जिरेल समुदाय अहिले सिन्धुली, बारा, पर्सा, चितवन जस्ता जिल्लामा फैलिइसकेका छन्। जिरेल समुदायको बोली चालीको भाषा जिरेल नै हो। त्यसैगरी जिरेल समुदायले कुल देवता ‘चेन पूजा’ नांगील्हा पूजा, भूमे पूजा, चेरम्जो पूजा, ह्यूलसा पूजा, छ्योमु पुज्ने, चारमाने पुज्ने गर्दै आएको छ ।