धेरै होइन 
पाँच वर्षदेखि हेर्नुस्
मलदेखि रेलसम्म हेर्नुस्
विकासका नाममा भएका भ्रष्टाचार हेर्नुस्
कोरोनामा खाली खुट्टा, भोकभोकै
अनिदो अनि सयौँ कि.मी. हिँडेको सम्झिनुस्
मास्कको खडेरी सम्झिनुस्
बेसार पानी र अम्बाको पात सम्झिनुस्
संविधानसभा विघटन सम्झिनुस्
एक पटक होइन दुई पटक सम्झिनुस्
अदालतले सरकार बनाइदिएको पनि सम्झिनुस् ।


फेरी उहि पुरानै मन्त्री, हानथाप हेर्नुस्
पार्टी चिरा परोस्, फुटे फुटोस्
तर मन्त्री चाहियो
एमसिसि पास सम्झिनुहोस्
एसपिपिलाई पनि ख्याल गर्नुस्
भोटकै लागि नागरिकता विक्रि गर्ने
नागरिकता विद्येयक सम्झिनुस्
महंगीले शिखर चुम्दा पनि
ठूला मान्छेहरु निदाएका सम्झिनुस्
अस्पतालमा अक्सिजन छैन
पहाडको टुप्पोको भ्यूटावर हेर्नुस्
जङ्गल बिचको पार्क हेर्नुस्
धानबारी र जङ्गलबिचको पक्की पुल सम्झिनुस्
छ महिनाकै भएपनि
मन्त्री नाम लेखाउन
च्याँखे थाप्नेहरु सम्झिनुस्

पद छोड्न पर्दा रुनेहरु पनि सम्झिनुस्
सँधै सत्तामा टाँसिरहनेहरुको
अनुहार पनि याद गर्नुहोस्
बिरालोले बास फेरे जस्तो
ठाउँ फेरी रहने पनि सम्झिनुस्
एक चोटी मौका दिनुस्
अझै पनि विकास गर्छु भन्ने
विकासे ठेकेदारहरु पनि सम्झिनुस्

तर...
अझै पनि
सम्भावनाहरु बाँकी छन्
आशाहरु व्युँताउन थालेका छन्
सुशासनका गति बामे सर्न थालेका छन्
युवाहरु गाउँ फर्किन थालेका छन्
विकासका कुरा सिक्न खोजेका छन्
त्यसैले
निर्भिक, निडर बनि
प्रलोभनमा नपरी, सक्षम व्यक्ति छान्नु छ
यसैले पनि भोट हाल्नु छ ।।