परासी। नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सरावल गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिका अध्यक्षमा एमालेका सुखाडीप्रसाद चौधरी विजयी हुनुभएको हो ।

निकटतम् प्रतिद्वन्द्वीलाई दुई हजार ९७० मतको फराकिलो अन्तरले पछि पार्दै चौधरी निर्वाचित हुनुभएको हो । गाउँपालिका अध्यक्षमा निर्वाचित चौधरीले सात हजार ५९ मत प्राप्त गर्नुभएको सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनिलकुमार गौडले चार हजार ८९ मत ल्याउनुभएको छ ।

गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै बासमती हरिजन विजय हुनुभएको छ । विजयी हरिजनले पाँच हजार ७४३ मत ल्याउनुभएको छ भने उहाँकी निकटतम् प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्षसमेत रहनुभएकी नेपाली कांग्रेसका उत्तमा रायले पाँच हजार ३४९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा हरिजनले रायलाई ३९४ मतले पछि पार्नुभएको हो ।

यसअघि यस गाउँपालिकाको अध्यक्षमा तत्कालीन फोरम लोकतान्त्रिक (पछि कांग्रेसमा समाहित) र उपाध्यक्षमा कांग्रेसले जितेको थियो । सातवटा वडा रहेको गाउँपालिकामा दुईवटा वडामा एमाले, तीन वटामा कांग्रेस र एक–एक वडामा माओवादी केन्द्र र राप्रपाले जित हासिल गरेका छन् ।

पच्चीस हजार ९१२ मतदाता रहेको यस गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा गाउँपालिकाका विभिन्न ३२ मतदान केन्द्रबाट २१ हजार २२ मत खसेको थियो । जिल्लाका सात पालिकामध्ये हालसम्म मतगणना सकिएर नतिजा सार्वजनिक गरेको यो पहिलो पालिका हो । अन्य छ पालिकामा पनि मतगणना जारी छ ।