झापा। हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजेन्द्र लिङ्देन पुनः निर्वाचित हुनुभएको छ। उहाँले एमालेका डम्बर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो।

उहाँले कूल मतको छ हजार ८५६ मत प्राप्त गर्नुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी गिरीले चार हजार ६६६ मत ल्याउनुभएको छ । एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ ।

त्यस्तै अध्यक्षका उम्मेदवार बनेका कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दङ्गालले एक हजार १४९ मत प्राप्त गर्नुभएको छ ।

पालिकाको उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली नै निर्वाचित हुनुभएको छ । मैनालीले पाँच हजार ७८ मत ल्याउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका शान्तादेवी गौतमले चार हजार १०६ मत ल्याउनुभएको छ । माओवादी केन्द्रका टीकादेवी राउतले एक हजार ४५३ र कांग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७०० मत ल्याउनुभएको छ । राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडाध्यक्ष र ११ सदस्य जितेको छ ।