काठमाडौं। इगिँहोपो कोईँचद्वारा निर्मित "सेनाको चेली" नामक लघु चलचित्र उत्कृष्ट लघु चलचित्र बनेको छ। नेपाली सेना लघु चलचित्र प्रतियोगिता -२०७८ मा "सेनाको चेली" नामक लघु चलचित्र उत्कृष्ट बनेको हो।

इगिँहोपो कोइँचको निर्देशनमा निर्मित लघु चलचित्रमा नेपाली सेना र विद्रोहीबीचको द्वन्द तथा त्यसपछिको मिलनलाई कथावस्तु बनाईएको छ। सर्वोउत्कृष्ट बनेसँगै सेनाको चेली लघु चलचित्रले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।

प्रतियोगितामा दुर्गाबहादुर कार्कीले निर्माण गरेको लघु चलचित्र ‘सेता मलामी’ दोस्रो र रविन तामाङले निर्माण गरेको लघु चलचित्र ‘डोल्मा’ तेस्रो हुँदै क्रमशः एक लाख ५० हजार र एक लाख पुरस्कार जितेको छ।

प्रतियोगितामा ५१ लघु चलचित्रको निवेदन परेकोमा उत्कृष्ट १० लाई निर्माणको अनुमति दिइएको थियो। उत्कृष्ट १० मध्ये उत्कृष्ट ६ लघु चलचित्रले भने पुरस्कार पाएका छन्।

उक्त चलचित्रको मूल्याङ्कन समितिका सदस्य सरिता लामिछानेले छायाङ्कन, आवाज, वत्ति, सन्देश, सिर्जना र निर्देशन पक्षलाई ख्याल गरेर पुरस्कारका लागि लघु चलचित्र छनोट गरेको जानकारी दिनु भयो।

उत्कृष्ट लघु चलचित्रहरूलाई मङ्गलबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले प्रथम हुने लघुचलचित्र सेनाको चेलीका निर्माता इगिँहोपो कोइँचलाई नगद दुई लाख रूपैयाँ र प्रशंसापत्र सहित सम्मानित गर्नुभयो । 

श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवस अर्थात डिपिआर एण्ड वान डेको अवसरमा एक समारोहकाबीच "नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०७८", "नेपाली सेना फोटो प्रतियोगिता–२०७८", "सिपाही–२०७८" र "शिवपुरी जर्नल–२०२२" तथा "फोटो तथा विविध प्रदर्शनी–२०७८" का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।