-अमर दीप सुनुवार

झिसमिसे बिहानीसँगै
प्राङ्गारिक प्राकृतिक लयमा
सूर्योदयको लालीमय किरणहरुसँग
हाँसखेल गर्दै गैरीखेतको अर्मपर्ममा
मानवता सजाउदै हुर्किएको,
हार्दिकताको फूलमाला गाँसेर,
मीठो स्नेह पस्केर,
सौन्दर्यको जवानी ओढेर,
लालिगुरास, सुनाखरी र बुकीफूलहरु,
देउराली, भञ्ज्याङ र चौतारीमा पिरती लगाउदै छन्,
जुरेली र गौथलीहरु स्वतन्त्रताको गीत गाउदै छन्,
नदी, खोला र झरनाहरु साँङ्गीतिक आलाप अलापिरहेछन्,
मेरो इन्द्रणी गाउँ प्रिय र स्निग्ध छ ।
मनमोहक, प्रेमिल र हार्दिक छ ।।

भालेडाकको मूहुर्तमै,
थकाई मेट्ने र निन्द्रा पुर्‍याउने,
बिहान आशाको लेक चढेर,
एक झुल्को प्रेरणाको घाम तापेर,
दिउँसो विश्वासको गोठ धन्सार गरेर,
गोधुलीमा आनन्दको बेसी झरेर,
एकसरो जालीरुमाल र दौरासुरुवाल फेरेर,
साँझमा खुसीको जीन्दगी बाँचिरहेकै छ,
अनन्त आस्था र जीवन दर्शन बोकिरहेकै छ,
मेरो जिन्दगी गाउँ, प्रिय र स्निग्ध छ । 
मनमोहक, प्रेमिल र हार्दिक छ ।।

आज गाउँ अलि अर्कै अर्कै भएको छ।
परिवर्तनले निस्सासिएको छ।
बाटो, दोबाटो र चौबाटोहरु सुनसान छन्,
एकराते मेला र एकादशी बजार सुनसान छन्,
देउसी भैलो गाँउने आगनहरु सुनसान छन्,
पाखापखेराहरुको रङ फुङ्ङ उडेको छ,
मणी हराएको सर्पझै भएको छ,
एक्ला एक्लै इन्कलाव गाँउदै छ,
अर्थहिन स्वार्थको म्याराथुनमा निस्किएको छ,
भाइ भतिजाहरु परदेशीएका छन्,
दिदी बहिनीहरु सात समुन्द्रपार गरेका छन्,
तर पनि,
मेरो लागि मेरो गाउँ, प्रिय र स्निग्ध छ । 
मनमोहक, प्रेमिल र हार्दिक छ ।।

-लेखक सुनुवार काभ्रेपलाञ्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ।