-जसु गुरुङ्

सुन्दैछु,
तिम्रो बजारमा 
खुशी, बिक्री भैरहेको छ रे 
खुशी, मोलतोल  हुँदै छ रे 
चर्चा परिचर्चा पो सुन्छु 
जताततै
तिम्रो बजारको 
हो,तिम्रो 
खुशी बिक्री हुने बजारको।

मलाई पनि 
अलिकती खुशी किन्नुछ
तिम्रो बजारको
पाउमा दिन्छौ कि कीलोमा 
पाउमा मात्रै भए नि दिनु
यो सिरेटोमा 
जिउ ढाक्न नसकुला 
तर सप्को भए पनि 
हाल्नु छ मलाई
त्यही खुशी  
तिम्रै बजारको
हो,तिम्रो 
खुशी बिक्री हुने बजारको।

बरु,भनी देऊ न तिमी
खुशी बासी हुन्छन् कि हुँदैनन्
तिम्रो बजारको
मलाई त टिकाउ वाला ,
सासी खुशी चाहिएको हो  
कुन चै पसलमा
खोजे जस्तो खुसी पाइन्छ 
त्यही सिफारिस गर्नु  
म त त्यही खुसी किनेर 
मुस्कुराउनु छ 
तिम्रै बजारको 
हो,तिम्रो 
खुशी बिक्री हुने बजारको।

यात्रामा निस्कनु छ मलाई 
खुसीको पोको बोकी 
तिम्रो बजारको,
मुस्काउदै १५ दिने यात्रा 
हेर्नलाई त्यही चन्द्रमा
गोलो शुन्य जस्तो 
अनि तेही ठाउमा बसी 
पोकोको गाँठो फुकाउदै
छर्नु छ मलाई एक थान खुशी,
खुशीहरू बनाएर
तिम्रै बजारको
हो,तिम्रो 
खुशी बिक्री हुने बजारको।