जिन्दगी आफैमा उत्सव हो
विशेष दिनहरु चाहिँदैन मलाई
रसायनिक मायालाई मेकप जरुरत छ
केही चाहिँदैन यो अर्गानिक मायालाई ।

स्वच्छ मिलन भए यो जुनी सम्भाव छ
सिँगारिरहनु पर्ने माया चाहिँदैन मलाई
भ्यालेन्टाइन झुटलाई सत्य देखाउन ठीक
तर बेकाम छ सफा माया गर्नेहरुलाई ।

तै पनि अरुले नाच्दा खुट्टासम्म पनि नहल्लाउँदा
यसले माया के हो बुझ्दैन भन्ला मलाई
मायाका झुटा आश्वसनलाई गिफ्ट बनाइ हिँड्दिन
किनकि एक दिने माया- माया हैन धोका हो थाहा छ मलाई ।

अब प्रियसी तिमीलाई...
सबैले चुडेर हैन हरेर प्रसंसा गरोस् तिम्रो
मन्दिरमा टुक्रिएको हैन भीरमा फूलेको देखु तिमीलाई
सुनखरी झै एक सिजन मात्रै फूल्नु तिमी
राती फूल्ने बिहान झर्ने पारिजात चाहिँदैन मलाई ।

दुखले पिरोलेको बेला नजिक हुनु तिमी
खुसी हुँदा त हात समाइ मै नचाउला तिमीलाई
भ्यालेन्टाइनमा उपहारको वर्षात आवश्यक देख्दिन म
रहेक दिन उपहार बनाइ जिन्दगी नै दिउँला तिमीलाई ।।