-बाबु सुनुवार

बनाएको थियौ तिमीले यो विशाल नेपाल
कोरेको थियौ तिमीले सुन्दर इतिहास
जोडेर ती टुक्रिएका बाइसे, चौबिसे राज्यहरू
आज भत्काउन खोजिँदैछ तिम्रा ति विशाल नेपाल
मेटाउन खोजिँदैछ तिमीले बुनेका स्वर्णिम इतिहासहरू
तिम्रा सन्ततिहरूले बुझेनन् तिम्रा त्यागहरू
तिम्रा मानिसले बुझेनन् तिम्रा आस्थाहरू
आपसमा लडिरहे, विकृतिमा फसिरहे
नेपाली जनता माथि चेतना देऊ हे पृथ्वी नारायण। 

तिमीले बताएका चार जात छत्तीस वर्णको फूलबारीमा 
फुल्दथे एकता, समझदारीका बासनादार फूलहरू
खुसी थिए तिम्रा प्रजाहरू
खै आज त्यही फूलबारीमा अराजकताको काँडाहरू उम्रीरहेछ
बेमेलको गन्ध आईरहेछ, भ्रष्टाचारका हाँगाहरू झाँगिदैछन्
आजित छन्, त्रसित छन् तिम्रा जनताहरू
नेपाली जनतामाथि राष्ट्रिय एकताको बुद्धि देऊ हे पृथ्वी नारायण।

तिम्रो साहस र चतुर्याइले जन्मिएको नेपाल
बहादुर शाहले हुर्काउँदै थिए
राज्यलक्ष्मीले रक्षा गर्दा यहाँसम्म ल्याई पुर्‍याएको थिइन्
आज अभिभावक बिहिन जस्तै छ तिम्रो नेपाल
गुटबन्दीमा बाँधिएको छ तिम्रो नेपाल 
राष्ट्रिय एकतामा बाँधिन तिम्रो प्रजालाई आशिर्वाद देउ हे पृथ्वी नारायण।