पहिले त जोत्न लागेको-जोतेको
रोप्न लागे-रोपेको
धान- खेत बगाउँथ्यो ।

अहो यसपालि त दोहोरो
रोप्न लागे-रोपेको अनि
पक्दै गरेको-पाकेको पनि
यो निष्ठुरीलाई
न विरुवा धानले जित्यो- न पाकेकै ले ।

ढुकुटी त आमाले लिपपोत गरिसक्नु भएको थियो
मैले गोबर र कमेरो ल्याएपछि
तर बेँसी झरेका बुवा
एक्कासी खुइक्क गर्दै आँगनमा देखिनु भो
अनि खाली बोरा र नाम्लो सिकुवामा फाल्नु भो

अनुहारमा मुस्कान बुर्कुस्ली खेलिरहेको बुवा
धान काट्न बेँसी झर्नुभएको थियो
तर फर्कँदा हारेर फर्कनुभो
पुरै हात खाली ।

अनि धर्मराउँदै-धर्मराउँदै बोल्नुभो
...यस पाली धान नउठाइ
खोलाले खेत लिपिदियो
त्यो सुन्नसाथ आमाको मुहारमा पनि
मैले बाढी पसेको देखेँ
निष्ठुरी पाराले नाचेको देखेँ
साँच्चै मैले निष्ठुरी नाचेको देखेँ ।

    - सुवास राई, रोङ-४, इलाम