सिन्धुली। फिक्कल गाउँपालिकाको वडा नं. २ सुमनाम स्वास्थ्य चौकीमा महिला स्वास्थ्य स्वयम सेविकाहरूका लागि १० दिने आधारभुत तालिम सञ्चालन भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा आधारभुत तालिम नलिएका सबै स्वास्थ्य स्वयम सेविकाहरूका लागि उक्त कार्यक्रम असार १९ गतेदेखि सञ्चालन गरिएको हो।

तालिम कार्यक्रम अनुगमनका क्रममा रहनु भएका गाउँपालिका उपाध्य पार्वती सुनुवारले आधारभूत तालिममा गाउँपालिकामा फिक्कल गाउँपालिकाका १२ र गोलन्जोर गाउँपालिकाका १ जना गरी १३ जना स्वास्थ्य स्वयम सेविकाहरू सहभागि रहेको बताउनु भएको छ। आधारभूत तालिम प्राप्त गरेपछि महिला स्वास्थ्य स्वयम सेविकाहरूले आफ्नो सीप, क्षमता र दक्षता हाँसि गरी प्रभावकारी रुपमा सेवा प्रदान गर्नुहुने छ भन्ने अपेक्षा रहेको बताउनु भयो।

स्वयम सेविकाहरूले स्थानीय मातृशिशु स्वास्थ्यसँग जोडिएर नजिकबाट काम गर्नुपर्ने भ एकाले उहाँहरूले प्रदान गर्ने सेवा पनि प्रभावकारी हुनुपर्ने भएकाले तालिममा सक्रियता पूर्वक सहभागि भईदिनु हुन सहभागि स्वास्थ्य स्वयम सेविकाहरूलाई अनुरोध गर्नु भयो। गाउँपालिकालाई मातृ तथा शिशु मृत्युदरलाई शुन्यमा झार्न मुख्य भूमिका स्वास्थ्य स्वयम सेविका र स्वास्थ्य चौकीको रहेको बताउनु भयो।

उपाध्यक्ष सुनुवारले आ.व. २०७७/७८ मा गाउँपालिकाभित्रका स्वयम सेवीकाहरूलाई सञ्चार खर्तबापत मासिक दुई हजारका दरले दिने नीति लिएकोमा उक्त सञ्चार खर्चको रकम सबै स्वयम  सेविकाहरूको खातामा जम्मा गरी दिएको बताउनु भएको छ।

उहाँले गाउँपालिकामा आफू निर्वाचित भएर आउँदा एउटा मात्र वर्थिङ सेन्टर रहेकोमा छोटो अवधि मै चारवटा सुविधा सम्पन्न वर्थिङ सेन्टरहरू स्थापना गरी सेवा प्रदान गरिरहेको बताउनु भयो। गाउँपालिकाले वर्थिङ सेन्टरमा सुत्केरी गराउनेलाई १५ सय रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिँदै आएको जानकारी दिनु भएको छ। त्यस्तै, गाउँपालिकाभित्रका सुत्केरीहरूलाई नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको र अन्य सुत्केरीहरूको सेवाका लागि समेत ५० प्रतिशत छुटको व्यवस्था गरिएको बताउनु भयो।

नयाँ आ.व. २०७८/७९ का लागि गाउँपालिकाले जनस्वास्थ्यसँग र गर्भवती तथा सुत्केरी लक्षित न्यूनतम ४ पटक गर्भ जाँग गराउनुपर्ने स्वास्थ्य मापदण्ड बमोजिम नियमित गर्भ जाँच गराउनेलाई प्रत्येक पटक ५ सयका दरले ४ पटकमा २ हजार रुपैयाँ प्रदान गर्ने गरी नीति तथा  कार्यक्रम पास गरिएको बताउनु भयो। गाउँपालिकाले गर्भमा रहेको बच्चा र आमाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी राखिराख्नका लागि त्यस्तो व्यवस्था गर्न लागेको प्रष्ट पार्नु भयो।

गाउँपालिकाले महिला समूह, महिला उद्यमशिलतालाई जोड दिईएको र त्यसको माध्यमबाट आगामी दिनहरूमा त्यस्ता समूहहरूले सामाजिक अभियानमार्फत कसैले पनि घरमा सुत्केरी नगराउने, बाल बिबाह बन्द गर्ने, बहु बिबाह बन्द गर्ने र लैङ्गिक हिंसाको अन्त्य गर्दै आत्मनिर्भर हुनका लागि प्रोत्साहन गर्नका लागि आँट दबाब समूह बनाउने गरी समूहको निर्माण गरिएको र त्यसलाई सञ्जालको रुपमा विस्तार गरिने बताउनु भयो।

दश दिने तालिमको सहजीकरणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका स्वास्थ्य अधिकृत गंगाराम कार्की प्रमुख प्रशिक्षकको रुपमा र सहायक प्रशिक्षकहरू फिक्कल गाउँपालिकाका अ.न.मी. पूजा आचार्य र जानुका पहाडी रहनु भएको छ।