काठमाडाैं। नेपाल दूर सञ्चार प्राधिकरणले नेपालमा अवैध मोबाइल सञ्चालन प्रतिबन्धका लागि आजबाट मोवाईल डिभाइस म्यानेजमेन्ट  सिस्टम (एमडिएमएस) प्रणाली लागू गर्ने भएको छ। प्राधिकरणले यसअघिनै सूचना जारी गरेर साउन १ गतेबाट एमडिएमएस प्रणाली लागू हुने जनाएको हो।

दूर सञ्चार प्राधिकरणले यसअघि जेठ १ देखि अवैध फाेन बन्द गर्ने तयारी गरिए पनि कोरोना भाइरसको महामारीका कारण यो प्रणाली सञ्चालन गर्न सकेको थिएन। सिस्टम सञ्चालनका लागि आवश्यक हार्डवेयर तथा सफ्टवेयर जडानको काम भने सम्पन्न भइसकेकाले साउन १ अर्थात् आजबाट यो प्रणाली लागू हुने भएको हो। 

विदेशबाट मोबाइलको चोरी पैठारी रोक्न एवं हराएको मोबाइल सजिलै पत्ता लगाउन यस्तो प्रणाली सबै खालका मोबाइलमा अनिवार्य गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ। सबै मोवाइल डिभाइसहरूमा आईएमईआई युनिक आइडेन्टिफाइड कोड रहने र जसले हरेक मोबाइल डिभाइसलाई सरकारी सिस्टममा समेट्ने काम गर्छ।

नेपालमै भ्याट तिरेर खरिद गरेको मोबाइलमा आईएमईआई पहिले नै दर्ता हुन्छ। उपहार स्वरुप पाएको मोबाइल वा भन्सारको सिस्टमबाहिरबाट ल्याएको मोबाइलमा रहेको आइएमइआई नम्बर प्राधिकरणको सिस्टममा जोडिएको हुँदैन। त्यस्ता मोबाइल सिस्टममा नजोडिँदा जुनसुकै बेला पनि बन्द हुन सक्ने भएकोले छिट्टै मोबाइललाई सिस्टममा जोड्न पनि प्राधिकरणले मोवाईल फोन प्रयोगकर्तालाई आग्रह गरेको छ।

आफ्नो मोबाइलकोआइएमइआई थाहा पाउन *#06# डायल गर्ने र दर्ता गरे/नगरेको https://eir.nta.gov.np/मा हेर्न सकिन्छ।