हत्तेरी म त हाँसे कि क्याहो
मेरो बाङ्गा टिङ्गा दाँतहरु पो फोटोमा आएछ त
सँधै बन्द रहने मेरा ओठहरु
नमिलेका दाँतहरुले उघारेछन् त

फोटो हेरेपछि दुख लाग्यो
यस्तो समयमा म किन मुस्कुराएँ
जब कि आकाश त निन्याउरो भएर
आँशुका वर्षहरु झारिरहेका छन्

म त घाम झै बादलमा लुक्नु पर्थ्यो
महामारीले छुटाएकाहरुलाई सम्झनु पर्थ्यो
आज हो कि भोलि अन्तिम भएकाहरुलाई
रोगसँग लड्न सक्ने शक्तिको कामना गर्नु थियो

तर आज म अनायसै हाँसेछु
त्यो पनि दाँत देखिने गरी मुस्कुराएर
हाँस्नु हुन्थेन यो संकटको समयमा
दुखमा परेकाहरुलाई गिज्याउने गरेर

फेरी अहिले झोक्राएका छन् टाउको नै पूरै
जस्तो पद गुमाएका नेताहरु छन्
पूरै बन्द नै भएका छन् ओठहरु
जस्तो नेताहरुको आँखा बन्दछन्

मैले आज मुस्कुराएर त पश्चातप गरेँ
खै कैले नेताहरुले पश्चातपका लागि वनबास जाने हुन्
हुन त वनबास नै गए पनि पाप चै कट्दैन होला
किनकी बिरामीलाई सुत्ने ठाउँ नहुँदा
जो बस्न विलासिन कुर्सीका लागि लडिरहेका छन् 

साह्रै दुख लाग्यो म आज हाँसेछु
बाङ्गाटिङ्गा दाँतहरु देखिने गरी हाँसेछु
मलाई आज साँच्चै दुख लागेकाे छ
अरु आँसुमा डुबेको बेला म हाँसेछु ।