झमझम दर्कियो
असारको झरी
छाता छैन घरमा
स्कुल जाने कसरी

धन्सारतिर आमाले
राखिछन् कि लुकार
छ कि मान्द्रोभित्र पो
यस्सो हेरेँ फुकार

भेटिएन यहाँ नि
कहाँ खोजुँ अब लौ
छाताबिना रुझेर
स्कुल जान धौ धौ

ओढेजस्तो लागेको
थियो हिजो दिदीले
लुकार पो राखी कि
झोलाभित्र छुच्चीले

झोलामा नि भेटिन
अन्तै लुकाइ छ कि
कहाँ छे र गतिलो
बानीबेहोर भ कि

भान्छातिर भारमा
राख्ने कुरो भएन
आमासित नसोधी
मेरो चिन्ता गएन

अस्तिमात्रै किनेको
नयाँ छाता हरायो
गाली गर्छन् बाबाले
मेरो मन डरायो

झोक्राएर बसेको
थिएँ लिस्नो आडमा
दिदी आई झस्काई
समातेर ढाडमा

दिदी हाँसी मुसुक्क
बाहिर हेरी पुलुक्क
छाता ओडी बाबा पो
देखिनु भो झुलुक्क।

-सरस्वती श्रेष्ठ सरू, पोखरा