खोटाङ् । खोटाङ् जिल्ला स्थित ऐसेलुखर्क-०१, राखा सुम्तेलमा सुनुवारहरुको आध्यात्मिक धरोहर श्याँदर थान स्थापना भएको छ । सुनुवार सेवा समाज खोटाङ्‍को अगुवाईमा उक्त स्थानमा श्याँदर थान स्थापना गरिएको हो ।

आफ्नो संस्कृति, भाषा, धर्मका बारेमा नयाँ पस्ताहरुमा चाख बढेपछि राखा सुम्तेलका सुनुवार समुदायहरू मिलेर सुनुवार समुदायमा लोप हुनै लागेको संस्कृति प्रकृति पुजक सुनुवारहरुको श्याँदर थान स्थापना गरिएको डम्बर सुनुवारले जनाएका छन् । उनका अनुसार गत २०७७ को उभौली मै श्याँदर थान स्थापना गरिने तयारी रहेपनि कोभिड १९ को सङ्क्रमण जोखिमका कारण श्याँदर थान स्थापनाले औपचारिकता पाउन सकेको थिएन । 

श्याँदर थान स्थापना सफल बनाउन उधौली पर्खेका राखा सुम्तेलका सुनुवारहरुले कोभिड १९ सङ्क्रमण जोखिमका बीच सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड अबलम्बन गरी २०७७ पुस १५ गते उधौलीको अवसरमा श्याँदरथान स्थापना गरिएको सुनुवार सेवा समाज खोटाङ्‍ले जनाएको छ । 

सुनुवार सेवा समाज संघीय समितिका कोषाध्यक्ष शोभा सुनुवारको प्रमुख आतिथ्यता तथा नासो साब्लारी कान्छाराम शीकारीको आध्यात्मिक अगुवाइमा श्याँदर थान स्थापना भएको हो ।