काठमाण्डौं– नेपाल कलाकार संघ–संस्थाबाट संयुक्त पत्रकार सम्मेलन गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।


कोभिड–१९को कारण बन्द भइरहेको चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि संयुक्तरुपमा पत्रकार सम्मेलनमाफर्त सरकारसँग फिल्म क्षेत्रसँग सम्बन्धित संघ–संस्थाहरुले शनिबार प्रेस विज्ञप्ती जारी गरेको हो ।


नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र प्राविधिक संघको अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष रक्षा राणा, नेपाल चलचित्र नृत्य संघका कार्यवाहक अध्यक्ष जनक कार्की, नेपाल चलचित्र द्वन्द संघका अध्यक्ष सूर्य थोकर तथा जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारको उपस्थिति रहेको विज्ञप्तीमा उल्लेख छ ।


विज्ञप्तिका अनुसार चैतदेखि नै लकडाउनले गर्दा नेपाली चलचित्र क्षेत्र ठप्प हुदाँ यस क्षेत्रमा आश्रित हजारौँ पेशाकर्मी बेरोजगार भएकाले जीवनयापन कठिन भैरहेको छ भने चलचित्रका लगानीकर्ताहरुको लगानी पनि स्थिर भएर बसेको  छ । कडाउनकाबीचमा चलचित्र विकास बोर्डले राहत उपलब्ध गराएको भए पनि फिल्म क्षेत्रको उत्थानका लागि दीर्घकालिन समाधान लागि यो क्षेत्र चलायमान हुनु आवश्यक भएको संघले जनाएको छ । दबाबपूर्ण विज्ञप्तिमा संघ–संस्थाहरुले चलचित्र क्षेत्र चलायमानका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको मापदण्डअनुसार चलचित्र छायांकन,प्रदर्शन गर्ने र जिम्मेवार भूमिका निर्वाह गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।


फिल्म क्षेत्रमा संघ–संस्था सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार सञ्चार तथा सूचना मन्त्री गुरुङलाई भेटि ध्यानाकर्षण गराएको थियो । सरकार फिल्म क्षेत्र खुलाउन सकरात्मक देखिएको र विश्व नै कोभिड–१९को चपेटामा परेका बेला कला क्षेत्रबाट समाज चित्रण गर्ने निरन्तर जिवन अपर्ण गरेका कलाकर्मीलाई राज्यका अभिभावकको अवस्थालाई हेरी जिम्मेवारी बहन गर्न निर्देशन दिँदै सरकारले सहयोग स्वरुप सहुलियत ऋणको व्यवस्था गरेको जानकारी सञ्चारमन्त्री गुरुङले दिएको छन् । चलचित्र विकास बोर्ड पनि फिल्म खुलाउन पक्षमा रहेका विज्ञप्तिमा उल्लेख गरिएको छ।