काठमाडौं । गीतकार तथा युवा गायक दिपक बस्नेतले आफ्नो नयाँ राष्ट्रिय गीत सेवा नै धर्म हो सार्वजनिक गरेका छन् ।

बाग्लुङ्गको गल्कोट नगरपालिका नेपानेमा जन्मिएका लेखक बस्नेत राष्ट्रिय भावले ओतप्रोत भई कलम चलाइरहेका युवा गीतकार हुन् । यस पटक बस्नेतले एक जातले अर्को जातलाई गर्ने भेदभावलाई सशक्त उठान गरेका छन् ।

आफ्नो युट्युव च्यानलमार्फत नयाँ गीतहरु सार्वजनिक गर्दै आएका बस्नेतले नयाँ राष्ट्र भक्ति गीत सार्वजनिक गरेका हुन् । कोभिड-१९ को विषम परिस्थितमा पनि गीत संगीतमा सक्रिया भई नेपाली संगीतलाई योगदान पुर्‍याइरहेका छन् । नेपाली सुगम संगीत क्षेत्रका विभिन्न अग्रज व्यक्तिहरुसँग उनले सहकार्य गरिसकेका छन् ।

नेपालमा छुवाछुत उन्मुलनको घोषणा भइसके पनि छुवाछुतलाई जारैबाट भने उखेल्न सकिरहेको आवस्था छैन । हाम्रो समाजमा दिन प्रतिदिन घट्ने यस्तो लज्जास्पद विभेदको अन्त्य गर्न राज्यले पनि विभिन्न ऐन नियम बनाएर दण्ड जरिवानाहरु तोकि लागू गरे पनि विभेदजन्य घटनाहरु दिनानु दिन दोहोरिरहेको छ ।

दूरदराजको शिक्षाबाट बन्चित गाउँघरमा मात्र नभइ सहरमा पनि यस्तो घटनाहरु दोहोरिरहेको हुन्छन् । गाउँघरमा जस्तो कुवाधारा नै नछुट्याइए पनि सहरमा पनि कुनै न कुनै रुपले विभेद गरिएको पाइन्छ । जस्तो, जात कै कारण कोठाबाट बन्चित भएको घटना केही दिन अगाडिको काठमाडौं सहर कै हो । देशको राजधानी सहरमा त यस्तो घटना घट्छ भने गाउँघरमा छुवाछुतको घटना नघट्ने कुरै भएन ।

२१ औं शतब्दीको यो अवस्थामा पनि यस्ता घटनाहरु कसरी घटिरहेका छन् । विभिन्न संघ संस्था तथा उच्च ओहदामा समेत दलित र उन्मुख जातिहरुलाई छुवाछुत र अन्य दृश्टिकोणले अगाडि आउन भेदभाव हुने गरेको छ । यस्तै घटनाहरु नघटोस् भनेर गीतकार बस्नेतले 'सेवा नै धर्म हो' बजारमा ल्याएको हुन् ।

मन्दिरको घन्टी, मूर्ती तथा मन्दिरको गजुरदेखि लिएर आम मान्छेले पहिरिने हर लत्ताकपडा, जुत्ताहरु बनाउने ति समुदाय जसलाई अछुतको नजरले हेरिन्छ । उब्जाएर खानाका लागि हलोको फालीदेखि मनोरञ्जनका लागि गुन्जिने हर सुमधुर धुनहरु निस्कने बाजाहरु यिनै छुवाछुत पीडितहरुले बनाएका हुन् । तर पनि हाम्रो समाजले अछुतो मान्छन् । विभेद गरिरहन्छन् । यो सम्पूर्ण कार्यहरु हाम्रो ठूलो भ्रम हो भन्ने गीतकारले गीतमा प्रष्ट्याएका छन् ।

गीतकार बस्नेतले हाम्रो प्रत्येक पाइला र शानमा यिनै अछुतहरुको सीप, कला र पसिना मिसिएको हुन्छ भन्ने सन्देश समेटर गीत सिर्जना गरेका छन् ।

समाजमा बारम्बार घटिरहने ज्वलन्त घटनाहरु समेटेर कोरिएको शब्दहरुमा सुमधुर श्वरको धनी गायक बलराम समाल, दुर्गा परियार र लोकेन्द्र कार्कीले गाएका छन् । गीतको सम्पादन भने लेखक स्वयंले गरेका हुन् ।