काठमाडौं। नेपाल सुपर लिगको आज भएको सेमिफाइनल खेलमा काठमाडौंल रेजर्सले ललितपुर सिटी एफसीलाई ३–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ। प्ले अफको पहिलो खेलमा धनगढी एफसीसँग हारेको काठमाडौंले फाइनलमा धनगढी एफसीसँगको भेट पक्का गरेको हो।

काठमाडौंको जितमा मेसौके ओलुमोउले २ तथा स्टेफन विनोङ समिरले एक गोल गरे भने काठमाडौंको जितमा तेज तामाङ्‍को दुई वटा असिस्ट(पास) रह्यो। खेलको १५ औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता बनाएको काठमाडौंले खेलको २२ औँ मिनेटमा अग्रतालाई मेसौकेले दोब्बर पारेका थिए। त्यस्तै, खेलको दोस्रो हाफको ५९औं मिनेटमा तेज तामाङको क्रसलाई स्टेफन विनोङ समिरले गोल गर्दै काठमाडौंको अग्रतालाई तेब्बर बनाएका थिए। 

सेमिफाइनल खेलमा इमेर्जिङ् प्लेअर अफ द म्याच आसिस गुरुङले पाए भने। सुपर प्लेअर अफ दि म्याच मेसौके ओलुमोउले जितेका छन्।

धनगढीले काठमाडौंलाई अतिरिक्त समयमा २–१ ले हराउाँदै फाइनलमा स्थान पक्का गरिसकेको छ भने अन्तिम अवसरलाई सदुपयोग गर्दै काठमाडौं रेजर्सले पुन: धनगढीसँगको भेट पक्का गरेको छ।

फाइनल खेल यही जेठ १ गते साँझ ५:३० बजे त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा हुने छ। यस प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १५ लाख रुपैयाँ पाउने छन्। व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैयाँ पाउने छन् ।