काठमाडौं। त्रिकोणात्मक सिरिजबाट नेपालको राष्ट्रिय टीममा डेब्यु गरेका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल प्लेयर अफ द सिरिज (सर्वोउत्कृष्ट खेलाडी) बनेका छन् । डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका कुशलले त्रिकोणात्मक टि-२० सिरिजको ५ खेलमा ४ अर्धशतक सहित २ सय ७८ रन बनाउँदै सन् २०२१ को धेरै रन स्कोर बनाउने खेलाडीको विश्वको ५ औँ नम्बरमा परेका छन्।

कुशलले उच्च स्कोर बनाउने क्रममा समग्र खेलमा १४०.४० स्ट्राइकरेट राख्दै पाँच खेलमा २४ चौका र १६ छक्का प्रहार गरेका थिए। डेब्यु खेलमा नेदरल्यान्डविरुद्ध ६२ रन बनाएका कुशलले दोस्रो खेलमा मलेसियासँग ६१ रनमा रहे भने नेदरल्यान्ड्ससँगको दोस्रो खेलमा ६२ रनमा आउट भएका थिए। मलेसियासँग भएको दोस्रो खेलमा १६ रनमा आउट भएपनि नेदरल्याण्डसँग भएको फाइनलमा ७७ रनको योगदान गरे।

प्लेयर अफ द सिरिज बनेका कुशल भुर्तेलले पुरस्कार स्वरुप २ सय सिसिको बाईक उपहार पाएका छन्। लगायतार तीन खेलमा अर्ध सतक पारी खेलेका भुर्तेल सन् २०२१ को सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विश्वकै पाँचौ नम्बरमा समेत परेका छन् ।