तस्विर: बविन्द्रलाल माझीको फेसबुकबाट साभार

माझि समुदायको बहुल्यता रहेको सिन्धुलीको मरिण गाउँपालिकामा आज "लदी" कोशी पूजा धुमाधामसँग मनाएका छन्। फागुन महिनाको तेस्रो मङ्‍गलबार माझी समुदायले कोशी पूजा गर्ने चलन रहेको छ।

आज मरिणको छापमा विशेष कोशी पुजा गरिएको नेपाल माझि उत्थान संघ जिल्ला कार्यसमिती सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले बताउनु भयो। उहाँको अनुसार माझी समुदायले आज खोलामा गएर जल देवताको पूजा, शिनेभुमे, गणेश, शिव तथा स्थानीयको देवता, पन्चकन्या पोखरीमा पूजा गरिएको बताउनु भयो। यस अवसरमा जल देबतालाई पुजाआज गरी प्रसाद ग्रहण गर्न चलन रहेको छ। यसरी पूजा गर्नुको उदेश्य जल देवतालाई खुशी पारेमा अन्न बाली सप्रने, मानिस स्वस्थ्य रहने धार्मिक विश्वास रहेको अध्यक्ष माझीले बताउनु भयो। वि.सं. २०६४ सालमा मात्रै मरिन खोलामा कोशी पूजा मनाउन सुरु गरिएको उहाँले बताउनु भयो।

सिन्धुलीमा त्यस अघि कोशी पूजा मनाउने चलन नभएकाले रामेछापबाट ज्ञाताहरु बोलाएर कोशी पूजा गर्न सुरु गरिएको थियो। मरिन गाउँपालिकाको मात्रै ५० ठाउँमा आज लदि अर्थात कोशी पूजा गरिएको माझिले बताउनु भयो। माझीले मरिन गाउँपालिकामा माझीहरुको बाहुल्यता भएकाले विशेष पूजा गरिने भएपनि पछिल्लो समय जिल्लाको हरिहरपुगढी गाउँपालिका, दुधौली, सुनकोशी, तीनपाटन, गोलोन्जोर, कमलामाई र फिक्कलमा पनि लदि अर्थात कोशी पूजा मनाउन थालेका बताउनु भयो।

तस्विर: बविन्द्रला माझी

माझी समुदायको यस वर्पको अवसरमा सिन्धुलीको दुईवटा स्थानीय तह मरिण र हरिहरपुरगढि गाउँपालिकाले सार्वजनिक विदा दिएका छन्। सिन्धुली जिल्लाभर १२ हजार भन्दाबढि माझी समुदायको बसोबास रहेको अध्यक्ष माझिले बताउनु भयो। उहाँको अनुसार कोशीको किनारमामात्रै सीमित माझी समुदाय पछिल्लो समयमा विकसित क्षेत्रमाहरूमा तिब्र बसाइ सर्ने गरेका छन्। विभिन्न ठाउँमा छरिएर रहेका माझी समुदायको जनसंङ्ख्यामा वृद्धि भएको बताउनु भयो। उहाँले सीमान्तकृत माझी समुदायको उत्थान तथा जनसंङ्ख्या वृद्धि गर्नको लागि सरकारले विशेष सहयोग गर्नुपर्ने बताउनु भयो ।