काठमाडौं। नेपाल सरकारले भारतबाट खरिद गरी १० लाख डोज कोभिड-१९ विरुद्धको खोप कोभिशिल्ड नेपाल ल्याएको छ। आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याईएको हो ।

सरकारले दोस्रो चरणको कोभिड -१९ विरुद्धको खोप अभियान सञ्चलान गरिरहेको बेला फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो। सम्झौताअनुरुप पहिलो चरणमा १० लाख डोज खेपको खोप नेपाल ल्याईएको हो। बाँकी खोप फागुन २३ गतेभित्रै ल्याउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जनाएको छ।

सरकारले विभिन्न चरणमा कोभिड -१९ विरुद्धको खोप सञ्चालन गरिरहेका बेला आज भित्र्याईएका खोप फागुन २३ गतेदेखि सञ्चालन हुने नयाँ खोप अभियानका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप अभियान अन्तर्गत आगामी फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दिइने कार्यक्रम छ। सरकारले दोस्रो चरणको खोप अभियानमा अहिले उक्त अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई खोप लगाइँदैछ।