काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली समुहले २३ गते गर्ने बृहत् सभा आयोजना गर्दैछ। ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि जनसभा गर्न लागेको हो।

नेकपाको बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलका अनुसार सभामा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका सबै जिल्ला तथा देशभरीबाट पार्टी नेता तथा कार्यकर्ता सहभागि हुने बताएका छन्। नेकपाले सभाको व्यवस्थापन गर्न काठमाडौं उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरेको छ।

माघ २३ गते शुक्रबार मध्यान्ह १२ बजेदेखि सुरु हुने जनसभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष खड्ग प्रसाद ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतका नेताहरूले सम्बोधन गर्नेछन्। सभा हुनु अगाडि काठमाडौँ उपत्यकाका विभिन्न १३ स्थानबाट जुलूस निकालिने आयोजकले जनाइएको छ।

पार्टी ध्रुबिकृत भएसँगै यसअघि नेपाल-प्रचण्ड समूहले आमसभा गरि सकेको छ भने ओली समूहले पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका प्रगतीहरूको प्रचारप्रसार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको बागमती प्रदेश कमिटिका अध्यक्ष पोखरेलले जानकारी दिएका छन्।