सिन्धुली। नगरपालिकाकाे स्वराेजगार कार्यक्रममा छनौट भई पहिलो चरणकाे भुक्तानी लिएर व्यवसाय थालेका यूवा उद्यमीहरुकाे व्यवसाय अनुगमन गरिएको छ। आईतबार कमलामाई वडा नं. ७, ८ र ९ मा नगर उपप्रमुख मञ्जु देवकाेटाले अनुगमन गरेका हुन् ।

उपप्रमुख देवकोटाले अनुगमनकाे क्रममा वडा न‌ं. ७ मा १२ कठ्ठामा तरकारी खेती गरी आफ्नाे व्यवसाय सञ्चालन गरेका यूवा उद्यमी ज्ञानु कुमारी कार्की र बङ्गुर पालन व्यवसाय थालेका पार्वती रुम्बाकाे व्यवसायकाे अनुगमन गर्नु भएको हो । वडा नं. ८ मा रागाँ तथा बाख्रा पालन व्यवसाय थालेका मिठू दर्नाल र किराना पसल व्यवसाय गरेका उजेलीमाया स्याङ्तानको व्यवसाय अनुगमन गरिएको छ भने वडा नं ९ स्थित गाैतम ग्लास हाउस र अस्मिता किराना पसल सञ्चालन गरेका यूवा उद्यमीहरूकाे व्यवसाय अनुगमन भएको छ ।

त्यस्तै, वडा नं ९ स्थित नै भैसी तथा बाख्रा पालन गरेका डेटराज खत्रीको व्यवसायकाे पनि प्रारम्भिक अनुगमन गिएको छ । अनुगमन टोलीमा उपप्रमुखसहित कमलामाई नगरपालिकाका सूचना प्रविधि अधिकृत ई. निर्मल लामा, उधाेग विकास शाखाका प्रमुख शुलाेचना लुईटेल, शशी थापा र उमा श्रेष्ठ रहेका थिए ।