काठमाडौं। चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा अर्को विभागीय टोली एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधि रक्षा गरेको हो। 

खेलमा आर्मीले प्रस्तुत गरेको २ सय १२ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको एपीएफ ४१.३ ओभरमा १ सय ७८ मा समेटिँदा उपाधि आर्मीले उचालेको हो। कीर्तिपुरस्थित त्रि वि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

त्रिभुवन आर्मीका ओपनर ब्याट्सम्यान सुशन भारी र अनिल मण्डलले  ३२ रनको ओपनिङ साझेदारी गरे । ८.६ ओभरमा पहिलो विकेटको रुपमा आउट भएका सुशनले ३४ बलमा १ चौकासहित १३ रन बनाए। त्यस लगतै मैदान छिरेका हरी चौहानले अर्का ओपनर अनिलसँग झिनो साझेदारी गर्दा अनिल व्यक्तिगत ११ रन बनाएर आउट भए ।

विकेट पतन हुने क्रममा भिम सार्की ७ रनमा, रोहित पौडेल १३ रन र कप्तान विनोद भण्डारी ७ रनमा आउट हुन् पुगे । यसैबीचमा राजेश पुलामी मगरले २९ बलको सामना गर्दै २ चौका र १ छक्काको सहयोगमा २८ रनको योगदान गर्दा लोकेश बमले १५ रन बनाए त्यसपछि टिमले छठौ विकेटका रुपमा अर्धशतकीय पारी खेलेका हरी चौहान आउट हुन् पुगे । ४३.१ ओभरमा टिमको स्कोर १ सय ५१ रन हुँदा अभिनाश बोहराको बलमा आउट हुनुअघि उनले १ सय २ बलको सामना गर्दै ६ चौकाको सहयोगमा ५८ रनको योगदान गरे । त्यस्तै विक्रम शोवले ११ रन बनाउँदा शाहव आलम २५ रनमा अविजित रहेका थिए ।

बलिङतर्फ एपीएफका लागि अभिनाश बोहाराले सर्वाधिक ४ विकेट लिए । आफ्नो स्पेलको १० ओभर पूरै बलिङ गरेका उनले २ ओभर मेडन राख्दै २५ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै किशोर महतोले २ तथा कमल सिंह एरी , शरद भेषवाकर र भुवन कार्कीले १-१ विकेट लिएका थिए । विजेता आर्मीले नगद १० लाख प्राप्त गर्दा उप –विजेतामा सिमित हुन् पुगेको एपीएफले ५ लाख प्राप्त गरेको छ ।