संगिता डिम्दोङ, सिन्धुली। सिन्धुलीमाढीमा कमलामाईले प्रथम मेयर कप प्रतियोगिता सुरु भएको छ । सर्वाधिक पुरस्कार राशीको कमलामाई नगरपालिका स्तरीय प्रतियोगीताको एक कार्यक्रमबीच नगरप्रमुख खड्ग बहादुर खत्रील उद्घाटन गर्नुभएको छ ।

कमलामाई नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपेन्द्र फुयालको अध्यक्षतमा भएको कार्यक्रममा नगर प्रमुख खत्रीले प्रतियोगीतामा सहभागी समुहका खेलाडीलाई फुटबल प्रदान गरेर प्रथम मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख खत्रीले नगरमा फुटबल खेलाडीको हौसला बढाउन तथा खेलाडी उत्पादनको लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

खेलकुद पछिल्लो समय स्वस्थ्य रहनका लागि पनि अपरिहार्य रहेको भन्दै उहाँले नगरमा खेल विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । मेयर खत्रीले कमलामाई नगरपालिकाले खेलको क्षेत्रलाई व्यवस्थित गर्न नगर खेलकुद समिति निमार्ण गरेको समेत बताउनुभयो । नगरपालिकाको १४ वटै वडामा खेल मैदान निर्माणको लागि प्रत्येक वडामा एक–एक लाखको दरले बजेट विनियोजन गरिएको उहाँको भनाई छ ।

नगरपालिकाले फुटबलसँगै भलिबल, ब्याटमिन्टन र उपमेयर कप लगाएतका खेलकुद प्रतियोगिताको आयोजना गर्ने उहाँले बताउनुभयो । प्रतियोगितामा नगरको १४ वडामध्ये ११ वटा वडाका खेलाडी समुहको सहभागिता रहेको छ ।

शनिवार उद्घाटन खेल अन्तर्गत भएका दुई खेलमा वडा नम्बर १ र १४ तथा वडा नम्बर ७ र १३ बिच प्रतिस्पर्धा भएको छ । वडा नम्बर १ ले वडा नम्बर १४ लाई ४–२ को गोलअन्तरले पराजित गरेको छ । वडा नम्बर ७ र १३ बिचको खेल निर्धारित समयसम्म गोल रहित बराबरी भएपछि खेल ट्राईब्रेकरमा गएको थियो । ट्राईब्रेकरमा वडा नम्बर १३ ले वडा नम्बर ७ लाई ४–२ को गोलअन्तरमा पराजित गरेको छ ।